नेपालले उपाधि चुम्दा दर्शकलाई सास्ती, कोरोनाको त्रास
स्वास्थ्य मापदण्ड पालना नहुनु चिन्ताजनक

त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सविरुद्ध सहज जित निकाल्दै उपाधि चुमेको छ। नेपालले नेदरल्यान्डलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो। 

यो प्रतियोगितामा सानदार प्रदर्शन गरिरहेको नेपाल यसअघि गतिलो योगफल बनाएर पनि नेदरल्यान्डसँग पराजित भएको थियो। यस्तोमा उपाधि भिडन्तमा बदला लिँदै जित्ने दाउमा रहेको नेपालले चाहे अनुसार नतिजा पनि निकाल्यो। 

तर घरेलु भूमिमा नेपालको फाइनल खेल हेर्न आएका दर्शकले अनेक सास्ती खेप्नुपर्यो । कोरोना भाइरसको महामारीका कारण कीर्तिपुरस्थित क्रिकेट रंगशालामा प्रवेश नपाए पनि नेपालको पहिलो टी-२० फाइनल हेर्ने ठूलो भीड थियो। नेपाली समर्थकहरु रंगशाला बाहिरबाट नेपाललाई सर्पोट गरिरहेका थिए। 

उनीहरु नेपालको झण्डा र हातमा शंख लिएर क्रिकेट मैदानको बाहिर भित्तामा चढेर खेल हेरिरहेका थिए । कोही रुखमा पनि चढेर क्रिकेट हेरिरहेका थिए। 

  खेल हेर्न आएकामध्ये केहीले त सामान्य मास्क पनि लगाएका थिएनन्। नेपालको जर्सीसहित हातमा पानी बोकेर आएका विशाल चौधरी मास्कसहित थिए । सानेपामा बस्दै आएका उनले भने, 'टिभीमा लाइभ हेर्छु भनेर बसेको मनले मानेन, उभिएर भए पनि हेर्न आएँ।'

आज दर्शकको भिडमा महिला समर्थक निकै कम थिए। खेलको पहिलो इनिङमा नेपालले देखाएको आक्रमक ब्याटिङ प्रशंसनीय थियो । शनिबारको दिन खेल हेर्न पसल बन्द गरेर आएका थिए , ५५ वर्षीय बालकुमार महर्जन । उनी रंगशालाको भित्तामा ढुंगामाथि उक्लिएर अग्लो ठाउँबाट क्रिकेट हेर्दै थिए । 



आजको नेपालको खेल निकै रोमाञ्चक थियो। नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा पनि कला देखायो। बलियो प्रतिद्वन्द्वी नेदरल्यान्डलाई ९६ रनमै अलआउट गरिदियो। उता नेपालले केबल ३ विकेट गुमाएर अहिलेसम्मकै कीर्तिमानी २३८ रनको विशाल स्कोर खडा गरेको थियो। त्यसको जवाफ दिन आएको नेदरल्यान्ड्स १७.२ ओभरमा अलआउट हुँदै केबल ९६ रनमा समेटियो। 

यो सिरिजमा नेपालले हरेक पक्षबाट माझिएको प्रदर्शन गरेपछि नेपाली समर्थक पनि उत्साहित थिए। अझ डेब्यु गरेका केही खेलाडीको प्रदर्शनले अब बलिङमा जस्तै ब्याटिङमा पनि नेपाली खेलाडी विश्वस्तरका हुने छनक दियो।



कोरोना महामारीबीच खेल हेर्न पुगेका समर्थकलाई स्वास्थ्यका दृष्टिकोणले सहज थिए। उनीहरुले आफ्नो टिमको खेल उभिएरै हेरे। तर मास्क समेत नलगाई खेल हेर्न आउनु चाहिँ खतरालाई निम्तो थियो। तर उभिएरै भए पनि खेल हेरिरहेका उनीहरु नेपालको प्रदर्शनमा झुमिरहेका थिए। 

खतराको घण्टी

नेपालले ऐतिहासिक स्कोरसहित उपाधि जितिरहँदा दर्शकले कोरोना संकट भुले। रंगशाला बाहिर सयौँको संख्यामा भेला भएका उनीहरुले कोरोनाको प्रवाह गरेनन्। तर पहिलो लहरको भन्दा ७० प्रतिशतसम्म संक्रामक दोस्रो लहर त्यो भीडबाट एकै पटक सयौंमा सर्ने जोखिम उच्च थियो। पहिलो लहरका क्रममा स्पेन र इटालीका दुई क्लबबीचको एउटा फुटबल म्याचका कारण दुई देशमा रातारात कोरोना फैलिएको थियो। 

यो जित नेपाली क्रिकेटको इतिहासमा ऐतिहासिक बन्यो तर स्वास्थ्यको हिसाबले निकै खतरायुक्त रहेको छ। नेपाली समर्थकहरु एकातिर अनेक सास्ती त भोगे नै कोरोनाको पनि उच्च जोखिम मोले। 

खेलप्रेमीहरुको समर्थन लोभ लाग्दो थियो तर त्यही प्रेमले स्वास्थ्यमा संकट ल्याएर त्यसको परिणाम भयानक हुन सक्छ । खेल हेर्न आउँदा न्यूनतम् स्वास्थ्य सावधानी समेत नअपनाउने मानिसहरूका कारण अरु पनि जोखिममा परे। त्यही भिडबाट कोरोना फैलिने सम्भावना पनि उत्तिकै थियो। खेलमोहले अर्को संकट बढाउने विषय सोचनीय भएको छ।

  • प्रकाशित मिति : बैशाख ११, २०७८ शनिबार २२:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया