सुदूरपश्चिम प्रदेशमा कन्ट्याक्ट ट्रेसिङ मा बेवास्ता

सुदूरपश्चिममा शनिबार मात्र भारतबाट आएका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । परीक्षणका क्रममा शनिबार ११० जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रदेशमा कोरोना संक्रमितहरूको संख्या हरेक दिन बढ्दो तथ्यांक छ ।

तर, कोरोना भाइरसको रोकथामका लागि संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङमा बेवास्ता भएको छ । भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा संक्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।

गौरीफन्टा सीमा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले सीमानाकाबाट भित्रिने नागरिकको कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा संक्रमण दर बढेको बताए । भारतबाट निर्वाधरुपमा नेपाली र भारतीय नागरिक सीमानाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । पछिल्लो साता प्रदेशमा ४७८ जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो सातामा १२३ संक्रमित फेला परेका थिए । संक्रमणको दर बढ्दै जाँदा प्रदेशमा जटिल अवस्थाका बिरामी पनि बढ्दै गएका छन् ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार सक्रिय संक्रमित बिरामी ५०९ पुगेका छन् । यीमध्ये ७७ जना अस्पतालका आइसोलेसनमा र बाँकी स्थानीय तहका तथा होम आइसोलेसनमा छन् । सघन उपचार कक्षमा १४ जना र भेन्टिलेरमा तीन जनाको उपचार भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी भने संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताउँछन् ।  भित्रिने सबैको एन्टिजेन परीक्षण सुरुका केही सातामा सीमानाका हुँदै भित्रिनेमा ज्वरो भए नभएको जाँच गरी शंकास्पद देखिने व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएकामा पछिल्ला दिनमा सबै व्यक्तिको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

यस्तो परीक्षणबाट नतिजा ‘पोजेटिभ’ देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको आइसोलेसनमा राख्ने गरिएको छ । होम आइसोलेसनमा बस्नुपर्ने अवस्थाका संक्रमितलाई भने स्वास्थ्य सतर्कतासम्बन्धी परामर्श दिई होम आइसोलेसनमा पठाउने गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १२:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया