सरकारको चेतावनी : यही गतिमा कोरोना फैलिए अस्पतालमा बिरामी राख्‍ने ठाउँ हुँदैन
संक्रमणको चक्रलाई रोक्न नसकिए अवस्था खतरनाक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारद्वारा जारी मापदण्ड नि:र्शत पालना गर्न आग्रह गरेको छ। ‘बढ्दो संक्रमण रोकथाम सम्बन्धमा सार्वजनिक सूचना’ शीर्षकमा आइतवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।

पछिल्ला दिनमा नेपालमा देखिएको संक्रमण दर अत्यधिक रहेको बताउँदै मन्त्रालयले संक्रमणको चक्र रोक्न नसकिए अवस्था भयावह हुने चेतावनी दिएको हो। 

'यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँसम्म हुने छैन', मन्त्रालयले भनेको छ, 'सार्वजनिक कार्यक्रममा सहभागी नहुन र स्वास्थ्य मापदण्ड पालना नगर्ने व्यक्तिहरुका कार्यक्रमको समाचार पनि प्रकाशन नगर्नु होला।'

मन्त्रालयले कोभिड-१९ विश्वका विकसित देशको पनि स्वास्थ्य प्रणाली तहसनहस पारिसकेको उल्लेख गरेको छ। 'विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड १९ ले हाल छिमेकी देशहरुमा स्वास्थ्य सेवा प्रवाह प्रणाली समेत तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र कोभिड १९ को संक्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न नसकिएको हृदयविदारक घट्ना हाम्रै आँखा अगाडि देखिरहेका छौं', मन्त्रालयले भनेको छ, 'यो महामारीले हाम्रै देशका विभिन्‍न स्थानसमेत उस्तै किसिमका दुःखद् अवस्था आइसकेको देख्दा देख्दै संक्रमण रोकथाम गर्नसक्ने भूमिका निर्वाह गरेका छैनौं । अहिलेको संक्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्त जोखिमपूर्ण छ । हालसम्म कोभिडको उपचार गर्नसक्ने कुनै औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न सकेको छैन।’

मन्त्रालयले नेपालमा पनि स्वास्थ्यकर्मीले संक्रमितको दिनदिनै ज्यान गइरहेको दु:खद दृश्य देखिरहेको बताएको छ। 'आज जुन दुःखद दृश्य स्वास्थ्यकर्मीले दैनिक देखिरहेका छन्, त्यो कसैको पनि परिवार वा आफन्तमा नहोस् भन्‍न हामी सबैले संक्रमण फैलावटलाई रोक्ने गरि जिम्मेवारी बन्‍न र बनाउन अत्यावश्यक छ । संक्रमण रोकथामका लागि सरकारले तोकका मापदण्ड निर्विकल्प उपाय हुन्', उनले भने, 'संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलँदै गएमा केही दिनमै अस्पतालमा विरामी राख्ने ठाउँसम्म हुने छैन। त्यसैले व्यक्ति व्यक्तिले निर्वाह गर्नसक्ने भूमिकाहरूलाई कसैलाई पनि विचलित हुन नदिऔं, खबरदारी गरौं।’





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १५:१९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया