बाँकेमा सोमबारबाट एक साता निषेधाज्ञा

बाँके जिल्लामा सोमबारबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । यसअघि गत ८ गते जिल्लामा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा र कार्य तथा हिँडडुलसमेत निषेध गरिएको थियो । 

उक्त निषेध कायम गर्दै जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विज्ञप्ति जारी गरी जानकारी गराएका छन् । नेपाल सरकार (मन्त्रिपरिषद)को मिति २०७८।०१।०६ को आदेश, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बाँके जिल्लाभरि निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । 

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंक सेवा जस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा भने सञ्चालन गर्न पाइनेछ । 

एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी र नीलो (कूटनीतिक) प्लेटका सवारीसाधन, लामो दूरीका सवारी तथा मालबाहक साधन, निर्माण सामग्री ढुवानीका साधन, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधन, अनुमति (पास)प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइएको छ । 

उल्लिखित सेवा एवं कार्यमा संलग्न कर्मचारी तथा व्यक्तिले अनिवार्य रूपमा कर्मचारी परिचय पत्र एवं अन्य सान्दर्भिक कागजात साथमा राखेको हुनुपर्ने साथै मास्क, भौतिक दूरीलगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गरी दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दूध, ग्यास)का पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाइएको छ । 

यस आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संकामक रोग ऐन, २०२१ का स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने प्रजिअ गेलालले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार १७:३०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया