महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रति मिनेट एक हजार लिटर अक्सिजन उत्पादन गर्छ । दुईवटा अक्सिजन प्लान्टबाट एक मिनेटमा एक हजार लिटर अक्सिजन उत्पादन भइरहेको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सन्तकुमार दासले बताए।
त्यहाँको एक हजार लिटर क्षमताको अर्को अक्सिजन प्लान्ट एक वर्षदेखि बिग्रिएर थन्किएको छ। त्यो बनेमा त्रिविले अन्य अस्पताललाई अक्सिजन आपूर्ति गर्न सक्छ ।
शिक्षण अस्पतालमा अहिले ११ जनाको आईसीयू र ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ११ बेड क्षमताकै आईसीयू चार दिनदेखि खाली छैन।
त्यस्तै ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिलेको अवस्थामा शिक्षण अस्पतालमा अक्सिजन अभाव नरहेको उनले बताए । एकै पटक धेरै कोरोना संक्रमित आएमा अक्सिजन दिन नसकिने डा. दासले बताएका छन्।
टेकु अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ। त्यसले अस्पताललाई अहिलेका विरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजन उत्पादन गर्छ । भारतमा जसरी एकै पटक धेरै विरामीको अक्सिजनसहित उपचार गर्नुपरेमा उपलब्ध गराउन नसकिने अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला बताउँछन् ।
त्यस्तै वीर अस्पताल, नेपाली सेनाको वीरेन्द्र अस्पताल, सशस्त्र प्रहरी बलको अस्पताल, पाटन अस्पताल लगायतका ठूला अस्पतालमा अहिलेलाई अक्सिजन अभाव छैन । थप बिरामी एकै पटक भर्ना हुने अवस्थामा अभाव हुनेछ ।
निजीको भर, कालोबजारीको डर
नेपालमा निजी क्षेत्रबाट सञ्चालित झण्डै दुई दर्जन उद्योगले अक्सिजन उत्पादन गर्छन् । काठमाडौं उपत्यकाका ८ उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन्। उपत्यका बाहिर १८ वटा उद्योगले उत्पादन गरिरहेका छन् ।
ती सबै उद्योगले दैनिक ८ देखि ९ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताए ।
केही ठूला अस्पतालबाहेक सबै निजी क्षेत्रबाट उत्पादित अक्सिजन प्रयोग भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अगाडि अक्सिजन ग्यास उद्योगीसँग छलफल गरेको थियो ।
छलफलका क्रममा मन्त्रालयसँग तत्काल माग गरेअनुसार अक्सिजन दिन तयार रहेको व्यवसायीले बताएका थिए । तर, त्यसका लागि सिलिण्डर अभाव रहेको अध्यक्ष शारडाले बताए ।
‘हामीले अक्सिजन उत्पादन गरे पनि त्यसलाई केमा हाल्ने? सरकारले सिलिण्डरको व्यवस्था त गरिदिनुपर्यो। हाम्रो च्यानलबाट ल्याउन सकेका छैनौं,’ अध्यक्ष शारडाले भने, ‘भारतका व्यवसायीले तीन चार महिना सिलिण्डर दिन नसक्ने बताएका छन्। सरकारले फेरि भारतसँगै सहयोग मागेको छ।’
अहिले भारतको भर पर्नुभन्दा पनि तेस्रो मुलुकसँग समन्वय गरेमा चाँडै सिलिण्डर आउन सक्ने उनको भनाइ छ।
सिलिण्डर लुकाउँदा बजारमा अभाव भइरहेको उनले बताए। ‘एउटा सिलिण्डर किन्दा १८ हजार पर्छ। हामीले चार सयमा अक्सिजन दिन्छौं’, उनले भने, ‘त्यही सिलिण्डर लामो समय घरमै राख्दा समस्या भइरहेको छ । सरकारी अस्पतालले सिलिण्डर नै लुकाउने गरेका छन् ।’
नेपालका दुई दर्जन उद्योगबाट वार्षिक ५० लाख सिलिण्डर अक्सिजन भर्ने गरिएको छ । अक्सिजन उत्पादन अनुसार अभाव नहुने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयले माग गरे अनुसार आपूर्ति गर्न तयार रहेको उनले बताए ।
२० हजार सिलिण्डर किनिँदै
सरकारले २० हजार सिलिण्डर किन्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले भारतबाट तत्काल २० हजार सिलिण्डर किन्ने गरी तयारी थालिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्यसका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताए ।
थप सिलिण्डर आएमा अभाव कम हुने उनको भनाइ छ । तत्काललाई अक्सिजनको अभाव नहुने बताउँदै उनले कालोबजारी गरेर लुकाएका संकट हुन सक्नेतर्फ चिन्ता जनाए।
‘अहिलेकै सर्कल अनुसार चल्यो भने अभाव त हुँदैन’, उनले भने, ‘अभाव हुने भनेर हल्लाको पछि लागेर धेरै सिलिण्डर लगियो भने समस्या देखिन्छ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।