प्रदेश १ मा अक्सिजन उत्पादनमा समस्या नभए पनि अक्सिजन भरेर अस्पतालसम्म पुर्याउन भने समस्या भएको छ । कोरोना संक्रमितका लागि आवश्यक पर्ने सिलिन्डर घर-घरमा भण्डारण हुन थालेपछि अक्सिजन उत्पादन गर्ने उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्न समस्या भएको हो ।
सुनसरी मोरङमा अक्सिजन उत्पादन गर्ने ५ ठूला उद्योग छन् । एउटा मात्रै उद्योगले पनि १२ घण्टामा ६ सयवटा सिलिन्डर भर्न गर्न सक्ने क्षमता राख्छन् । एउटा उद्योगमा ३ वटासम्म अक्सिजन गर्ने प्लान्ट छन् ।
बजारमा गएका अक्सिजनका सिलिन्डर उद्योगमा नआउँदा समस्या भएको अक्सिजन उत्पादन गर्ने उद्योग विनायक अक्सिजन इन्डस्ट्रिज विराटनगरका सञ्चालक अमित सारडाले बताए ।
उनले अक्सिजन उत्पादनमा कुनै समस्या नभए पनि सिलिन्डरको अभावमा कोरोना माहामारीका बेला समस्या हुने बताए ।
उनले भने, ‘मेरो उद्योगमा अहिले पनि २ वटा प्लान्ट छन् । एउटा प्लान्टबाट १२ घण्टामै ६ सयभन्दा बढी सिलिन्डर फिल हुन सक्छ । तर, अहिले सिलिन्डर अभावका कारण एउटा मात्रै प्लान्ट चालु छ ।’
मारुती ग्यासका सञ्चालक शंकरलाल अग्रवाल पनि अक्सिजन उत्पादन गर्न सक्ने भएर पनि सिलिन्डर रोटेशन नहुँदा समस्या भएको बताउँछन् । उनले गलत मनसायले समेत सिलिन्डर लुकाइएको आरोप लगाए ।
‘अस्पताल, क्लिनिकहरू र घरमा पुगेका अक्सिजन सिलिन्डर आवश्यक नपर्नेहरूले पनि ओगटेर राखिदिएका छन्’, उनले भने, ‘यसले रोटेशन हुनै सकेको छैन । क्षमता भएर पनि अक्सिजन भर्न पाइएको छैन ।’
एउटा सिलिन्डको १५ देखि १७ हजार रुपैयाँ पर्छ । तत्काल खरिद गर्न समेत समस्या छ । भारत र चीनबाट अक्सिजनको सिलिन्डर ल्याउनु पर्ने तर भारतबाट सिलिन्डर ल्याउन नपाएकाले सिलिन्डर थप्न समेत समस्या रहेको उद्योगी सारडा बताउँछन् ।
‘सिलिन्डरको कुनै धरौटी लिने गरिएको छैन । उद्योगबाट निस्किएका सिलिन्डर यसरी नै लुकाइने हो भने हामी केही दिनपछि नै उत्पादन बन्द गर्ने अवस्थामा पुग्छौँ,’ सारडाले भने, ‘यस बारेमा सरकारले ध्यान दिन पर्छ ।’
‘फिल’ गरिरहेका उद्योगसँग अहिलेकै अवस्थाको तेब्बर क्षमतामा अक्सिजन भर्ने क्षमता छ ।
उनीहरूका अनुसार अक्सिजन सिलिन्डर मुख्य रूपमा चीनबाट ल्याउने गरिएको छ । अहिले नै अर्डर गरेर मगाउँदा पनि कम्तीमा दुई महिना जति समय लाग्छ ।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की अहिले नै अक्सिजन अभाव भइहाल्ने अवस्था नरहेको बताउँछन् ।
तर, संक्रमण बढ्दै जाँदा त्यस्तो अवस्था आउने खतरा भने कायमै रहेको कार्कीले बताए ।
अक्सिजन उत्पादन बढाउन सरकारको आग्रह
प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले विराटनगरका अक्सिजन उत्पादन गर्ने उद्योगीहरुलाई मन्त्रालयमै बोलाएर उत्पादन बढाउन आग्रह गरेको छ ।
यसका लागि आवश्यक पर्ने सहयोग गर्न सरकार तयार छ । सचिव कार्कीले भने हामीले आवश्यक समन्वय गर्ने बचन दिएका छौं ।
यही अनुसार उद्योगीहरूले काम थालेका छन् । छलफलमा उद्योगीहरूले भण्डारण गरिएका अक्सिजनको अवस्था पत्ता लगाई सिलिन्डर व्यवस्थापन गर्न माग गरेको उद्योगी शंकरलाल अग्रवाल बताउँछन् ।
भ्याटसहित गरेर ३३ प्रतिशत कर तिरेर अहिलेको अवस्थामा उद्योगीहरु तत्काल सिलिन्डर खरिद गर्न सक्ने अवस्थामा नरहेको अग्रवालले बताए ।
सरकारले सिलिन्डरको व्यवस्थापन गरे अक्सिजन अभाव नहुने उद्योगीहरु बताउँछन् ।
अस्पतालहरू आफैं उत्पादनमा लागे
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूलाई चाहिने अक्सिजन आफैंले उत्पादन गरिरहेको छ । झापाको मनमोहन सामुदायिक अस्पतालले पनि अक्सिजन उत्पादन गरिरहेको छ ।
यस्तै झापाको मेची अञ्चल अस्पताल, बिएन्डसी, ओम साई पाथिभरा अस्पतालले पनि अक्सिजन उत्पादन गर्ने तयारी थालेका छन् ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार आफूलाई चाहिने मात्रामा उत्पादन भएको छ । झापाका अस्पतालहरूले पनि आफैं उत्पादन सुरु गरेपछि समस्या केही हदसम्म कम हुने अपेक्षा स्वास्थ्य क्षेत्रको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।