बिहेकै दोस्रो दिन कोरोना संक्रमित बेहुली अस्पतालको आइसियुमा

विवाहले पूरै परिवारमा खुसीयाली ल्याउँछ । झन् दुलहा-दुलहीको मनमा अनेकन सम्भावनाका लहरहरु दौडिरहेका हुन्छन् ।

धुमधामसँग बिहे गरेर दुलहीलाई घरभित्र्याएपछि दुलाहाको परिवार प्रफुल्ल हुन्छ । 

तर, घर भित्र्याएकी दुलही दोस्रो दिन नै सिकिस्त बिरामी परिन् भने त्यो परिवारको के बित्ला ? हो भक्तपुरको एक परिवार यतिबेला यस्तै भएको छ । त्यो परिवार हाँसो र रोदनको पीडाबाट गुज्रिरहेको छ । उनीहरुले धुमधामसँग दुलही घर भित्र्याए पनि त्यसको खुसीयाली सबैसँग साट्न पाएनन् । 

बिहे गरेर घर लगेको दोस्रो दिन नै दुलही कोरोना संक्रमित भइन् । भक्तपुरकी २२ वर्षीया युवती कोरोना संक्रमित भएर गम्भीर बनेपछि भक्तपुर अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।

दुलहीको भित्र सघन उपचार कक्षमा उपचार भइरहँदा दुलाहा भने बाहिर कुरुवा बसेका छन् । उनी न राम्रोसँग हाँस्न सकेका छन्, न त दुलहीसँग बोल्न नै पाएका छन् । 

बाहिर बसेर दुलहीको स्वास्थ्यलाभको कामना गर्नुबाहेक उनीसँग अर्को विकल्प पनि छैन । उनले दुलहीलाई नजिकै गएर ढाडस दिन समेत पाएका छैनन् । 



गत शुक्रबार विवाह गरेकी दुलही आफ्नो नयाँ घर पुग्न नपाउँदै अस्पतालको बेडमा मृत्युसँग संघर्ष गरिरहेकी छन् ।

अहिले दुलहीको अवस्था स्थिर रहेको भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमले बताइन् । विवाहको केही दिन अगाडिबाटै सामान्य रुघाखोकी लागेकी उनी  विवाहपछि गम्भीर बनिन् । परिवारले काठमाडौं उपत्यकाका थुप्रै अस्पतालमा उपचारका लागि सम्पर्क गर्‍यो, तर बेड पाउनै गाह्रो भयो । सास फेर्नै समस्या भएपछि उनी छट्पटाउन थालिन् ।



भक्तपुर अस्पतालमा रहेका ६ आइसियु बेड बिरामीले भरिएका थिए । अस्पतालले एक जना बिरामीलाई अर्को ठाउँमा सारेर ती दुलहीलाई भर्ना गर्‍यो । आइसियुमा भर्ना गरिएपछि उनको स्वास्थ्य स्थिर बनेको छ ।

‘निमोनिया नै भएर अस्पताल पुग्नुभएको थियो । हाम्रो आइसियु खाली थिएन । आइसियुमा रहेका एक जना बिरामीलाई सारेर उहाँलाई उपचार गर्‍यौं । अहिले अवस्था स्थिर छ । खासै सुधार भएको छैन’, डा. गौतमले भनिन् ।

उनको छातीमा समस्या हुनुका साथै रुघाखोकी पनि लागेको डा. गौतमको भनाइ छ । 

नयाँ दुलहीलाई सामाजिक सञ्जालमार्फत धेरैले बधाईको शुभकामना दिए । तर, उनी अस्पतालको शय्यामा जीवन र मृत्युको एक्लो लडाइँ लड्न बाध्य भइन् ।

डा. गौतमले अहिले दोस्रो लहरको कोरोना एकदमै कडा खालको रहेको भन्दै आफ्नो स्वास्थ्य ख्याल आफैंले गर्नुपर्ने बताउँछिन् ।

  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार १४:४१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया