जसपा बैठक नै बसेन, ओलीविरुद्ध कांग्रेस-माओवादीको अविश्वास अलपत्र
सरकारलाई लिएर चर्को विवाद, यादव र महतोबीच तँ तँ र म म

लामो समयपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने योजना फेरि एक पटक तुहिएको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका थिए।

गणितीय हिसाबले अविश्वास अघि बढाउन दुई दलको मात्रै मतले नपुग्ने भएपछि उनीहरु जसपाको निर्णय कुरिरहेका थिए। तर ओलीलाई समेत निर्णायक बनेको जसपाको बैठक नै बस्न सकेन। आज बस्ने भनिएको पदाधिकारी बैठक पनि आपसी विवादले अगाडि बढ्नै सकेन। 

जसपाले निर्णय गरेलगत्तै कांग्रेस नेतृत्वमा सरकारमाथि अविश्वासको प्रस्ताव लगाउने योजना थियो। अविश्वासको प्रस्तावका लागि जसपाको निर्णय कुरिरहेका कांग्रेस–माओवादीलाई महन्थ ठाकुरको अडानका कारण दाँतमा ढुंगो लागेको छ।

जसपाको पूर्ण समर्थनबिना ओलीविरुद्धको डुङ्गा पार नलाग्ने भएपछि कांग्रेसको यतिबेला औपचारिक निर्णयको व्यग्र प्रतिक्षामा छ।

जसपाबाट उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको साथ पाएर उत्साहित शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड अविश्वासको प्रस्ताव दर्ता गराउन हस्ताक्षर अभियानमा पुगिसकेका थिए। कांग्रेस–माओवादीको तयारीबीच आज बालकुमारी बसेको थियो जसपाका ६ नेताको आजको बैठक । 

लामो समयपछि जसपा पदाधिकारीको बैठक बसेपछि कांग्रेसलाई लाग्यो– प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाने ढोका खुल्छ। 



यही विश्वासले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन दुई दल सक्रिय भएका थिए। कांग्रेस–माओवादी नेताले ‘जसपाको निर्णय आएपछि १÷२ दिनमै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँछौँ’ भन्न थालिसकेका थिए।

तर कांग्रेस र माओवादीको यो उत्साह धेरै बेरसम्म टिकेन । कांग्रेसले खोजे जस्तो जसपाबाट कुनै निर्णय नै नै भएन। अझ अविश्वास प्रस्तावबारे निर्णय लिन बस्ने भनिएको बैठकले औपचारिकता नै पाएन।



के भएको थियो बालकुमारीमा ?

जसपा केन्द्रीय कार्यालयमा बालकुमारीमा मंगलबार बिहान शीर्ष नेता जुटेका थिए । स्रोतका अनुसार बिहान ९ बजे पार्टीका पदाधिकारी भेला भएका थिए । तर ५ मिनेट पनि नबसी उनीहरु बैठकस्थलबाट हिडें । बैठकको टुंगो भेला भएका नेताहरु लकडाउनपछि जुट्ने भन्दै त्यहाँबाट उठे। 

स्रोतका अनुसार यही सहमतिपछि उनीहरु बालकुमारीबाट बाटो लागे । बैठकमा  जसपाका नेताहरू महन्थ ठाकुरबाहेक बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहित पुगेका थिए । 

लामो समयपछि अनौपचारिक बैठक बस्ने सहमति गरेर बिहानै पार्टी कार्यालय पुगेका नेताहरु अचानक किन हिँडे त ? स्रोतका अनुसार सरकारमा सहभागी हुने विषयमा जसपा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता महतोबीच चर्काचर्की हुन थाल्यो । विवाद हुँदै जाँदा दुवै नेताबीच तँ तँ र म म समेत भयो । त्यसपछि बैठक अवस्था बिग्रिन लागे नेताहरु आज बैठक नबस्ने भन्दै त्यहाँबाट हिँडे ।

महतोलाई फोनबाट धम्की

तर यो विवाद यहीँ सेलाएन । त्यसपछि उपेन्द्र यादव नजिक मानिने नेता राजेन्द्र श्रेष्ठले धम्कीको भाषा प्रयोग गर्दै वरिष्ठ नेता महतोलाई फोन गरे। स्रोतका अनुसार किन त्यस्तो कुरा गर्नु भएको भन्दै महतोलाई नेता श्रेष्ठले धम्क्याएका हुन् ।

किन अलमल ?

जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो लामो समयदेखि ओलीसँग मिलेर सत्ता गठबन्धन बनाउने कोसिसमा छन् । बाबुराम र उपेन्द्रसहितका नेताहरू कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने अडानमा छन्। 

अर्थात् दुवै खेमाले आ–आफ्नै स्वार्थ अनुसार पार्टीलाई अघि बढाउन खोजेपछि जसपामा एकमत हुन नसकेको हो। पार्टी विभाजनको दिशामा अघि बढ्दा स्पष्ट दुई धार बनेको छ– एउटा ओली समर्थक, अर्को ओलीविरोधी।

जसपाको यही विवादले देशको राजनीति नै अनिर्णयको बन्दी बनेको छ । जसपामा आन्तरिक लडाइँ चर्किएको छ, त्यहीकारण कुनै निर्णय पनि हुन सकेको छैन। जसपाले ठोस निर्णय नलिँदा राजनीतिक अस्थिरता झन्झन् बढ्दै गइरहेको छ । ओलीलाई सरकारबाट हटाउन र देउवालाई प्रधानमन्त्री बनाउन पनि जसपा नै निर्णायक बनेको छ । 

  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार १४:४९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया