कैलाली प्रहरी हिरासतका २० जनामा कोरोना संक्रमण

कैलाली जिल्ला प्रहरी कार्यालय धनगढीको हिरासतमा रहेका २० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो ।

उनले थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कडाइ गरिएको जानकारी दिए । ‘प्रमुख जिल्ला अधिकारीको निर्देशन अनुसार कार्यालयमा हुने भीड नियन्त्रण गरेका छौँ,’ उनले भने, ‘विगतमा एउटै कामका लागि ४-५ जना आउने गरेका थिए । अहिले एक जनालाई मात्रै प्रवेश गर्न दिएका छौँ ।’ उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको पनि परीक्षण गरिने बताए । पछिल्लो समय कैलालीमा कोरोना संक्रमण तिब्र भएको छ । 

कैलालीमा  वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने तयारी भएको छ । जिल्लामा उच्च दरमा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्र कैलालीले एक सातासम्म निषेधाज्ञा तयारी गरिएको हो ।

जिल्लामा सोमबारदेखि ‘नाइट लकडाउन’ जारी भएको थियो । यस्तै सार्वजनिक सवारी साधन जोर-बिजोर प्रणालीमा सञ्चालन भइरहेका छन् भने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गरिएका छन् । भारतमा कोभिड-१९ दोस्रो लहरले त्रास फैलाएपछि पश्चिमी नाका त्रिनगर भएर स्वदेश फर्किनेको संख्या बढ्दै गएको छ ।





  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार १५:५१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया