सरकारले अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको सांसदहरुको आरोप

सरकारले कोभिड–१९ संक्रमित बिरामीको लागि आवश्यक पर्ने अक्सिजन व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा उपस्थित सांसदहरुले सरकारले कोभिड बिरामीको उपचारका लागि अक्सिजनको आवश्यकता अपरिहार्य भए पनि त्यसको व्यवस्थापनमा ध्यान नदिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका हुन् । 

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले कोभिड बिरामीको उपचारको लागि अक्सिजनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । अहिले थुप्रै अस्पतालमा भएका अक्सिजन प्लान्ट बिग्रिएको अवस्थामा रहेको, तर सरकारले मर्मत गरी सञ्चालन गर्ने कुरामा ध्यान नदिएको उनको आरोप छ । अक्सिजन प्लान्ट पनि तत्काल थप्न उनले माग गरे । 

त्यसबाहेक पिसिआर परीक्षण गत वर्षको जति पनि नभएको भन्दै उनले समुदाय स्तरमै पुगेर परीक्षण गर्न सुझाब दिए । देशभरका अस्पतालमा रहेका भेन्टिलेटर, अक्सिजन र बेडहरुको अडिट गरी बिरामीले सहजै पाउने व्यवस्था गर्न उनले मन्त्रालयको ध्यानाकर्षण गराए । 

नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले नेपालमा २० वटा अक्सिजन प्लान्ट कम्पनी रहेको, तर मन्त्रालयले एक दिन पनि अक्सिजन आपूर्तिको विषयमा उनीहरुसँग छलफल नगरेको बताए । यसबाट मन्त्रालयको लापरबाही प्रस्ट भएको उनले बताए । 

वीर, पाटन , धरान अस्पताललगायतमा रहेका अक्सिजन प्लान्ट बिग्रिएको, तर मर्मत गरेर चलाउन सरकारले चासो नदिएको विश्वकर्माको आरोप छ । 



नेकपा (एमाले)का सांसद खगराज अधिकारीले कोभिड बिरामीको उपचारको जिम्मा संघीय सरकारले लिनुपर्ने, पिसिआर परीक्षणको जिम्मा प्रदेश सरकार र कन्ट्याक्ट ट्रेसिङको जिम्मा स्थानीय तहले लिने गरी कार्यविभाजन गर्दा प्रभावकारी हुने सुझाब दिए । जनशक्ति, औषधि, इक्युपमेन्ट, बेड र अक्सिजन बढाउने कुरामा ध्यान दिन उनले मन्त्रालयलाई आग्रह गरे ।  

नेकपा (एमाले)कं सांसद जीवनराम श्रेष्ठले कोभिड बिरामीको उपचारका लागि सरकारको तयारीको पक्ष कमजोर रहेको बताउँदै गत वर्षभन्दा राम्रो तयारी हुनुपर्नेमा त्यसो हुन नसकेको बताए । सरकार योजना बनाउने, तर कार्यान्वयन नगर्ने अवस्थामा रहेको उनले बताए । 



नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले पहुँच हुने सांसदहरुले आफ्नो क्षेत्रमा स्वास्थ्य सामग्री लगेको लग्यै गर्ने र पहुँच नहुनेको क्षेत्रमा रहेका अस्पतालमा समान्य मास्कसमेत नजाने अवस्था रहेको बताए । 

सांसदहरुले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुन नदिनका लागि छोटो समयका लागि जनशक्ति नपाए एक वर्षका लागि भए पनि करारमा लिनुपर्नेमा जोड दिएका छन् । अहिले काम गरिराखेका स्वास्थ्यकर्मीले गत वर्षको पाउनुपर्ने सुविधासमेत नपाएको अवस्थामा उनीहरुको मनोबल बढ्न नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन उनले मन्त्रालयको ध्यानाकर्षण गराए ।

  • प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार १९:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया