सर्वोच्चमा आजदेखि बन्दीप्रत्यक्षीकरण तथा कोभिडसम्बन्धी जरुरी मुद्दाको मात्रै सुनुवाइ हुने

सर्वोच्च अदालतले कोरोना महामारीको जोखिमका कारण नियमित कामकाज कटौती गरेको छ । अत्यावश्यकबाहेकका कामहरु तत्कालका लागि स्थगित गरेको अदालतले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

प्रधानन्यायाधीशसहित हिजो मंगलबार बसेको अदालतको पूर्ण बैठकले संक्रमण रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डसहितको आदेशको आधारमा सेवा प्रवाहमा कटौतीको निर्णय गरेको हो । 

जसअनुसार वैशाख १५ गतेदेखि वैशाख मसान्तसम्म सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरुको दर्ता र सुनुवाइ मात्रै हुने भएको छ । यी बाहेकका कामकारबाही र सेवा स्थगन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्थाको मूल्यांकनको आधारमा उपयुक्त देखिएको कामकारबाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धित अदालत तथा न्यायाधिकरणहरुले मिलाउने निर्णय गरेको छ । 

यस्तै, कामकारबाही तथा सेवा प्रवाह स्थगन भएका अवधिका मुद्दा, रिट तथा निवेदनहरुमा रहेका हदम्याद, म्याद, तारेख नगुज्रने पनि बैठकले निर्णय गरेको छ । यससम्बन्धी अरु व्यवस्थापकीय पक्षहरु सर्वोच्च अदालत प्रशासनले मिलाउने जनाइएको छ ।





  • प्रकाशित मिति : बैशाख १५, २०७८ बुधबार ११:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया