काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, बिहानैदेखि चेकजाँचमा कडाई

काठमाडौंमा आजदेखि निषेधाज्ञा लागु भएको छ । कोरोना भाइरसको म्युटेट भेरियन्टसहितको दोस्रो लहरको संक्रमण बढेपछि सरकारले आजदेखि काठमाडौंमा निषेधाज्ञा जारी गरेको हो । 

आज बिहानैदेखि काठमाडौंमा निषेधाज्ञा लागु भएको छ । अत्यावश्यक कामबाहेक यातायात र हिँडडुल बन्द भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागु भएको हो । 

तीनवटै जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछन् । आजदेखि सडकमा प्रहरीको उपस्थिति बढेको छ । चेकजाँचमा कडाई गरिएको छ । वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकाका सिडियोहरुको सिफारिसमा निषेधाज्ञा आदेश जारी गरेको थियो । 

वैशाख मसान्तसम्मको निषेधाज्ञाको समयमा स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामग्री बोकेका सवारी, खाद्य पसल, दूध, पानीका सवारीहरु स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाध चल्न पाउनेछन् । 

काठमाडौंमा फेरि निषेधाज्ञा लागु हुने भएपछि मंगलबार र बुधबार लाखौंको संख्याका मानिसहरुले काठमाडौं छाडेका छन् । काठमाडौं छाड्नेहरूको चापका कारण पछिल्लो केहीदिन काठमाडौंबाट बाहिरिने नाकाहरुमा लामो जाम देखिएको थियो ।

यसअघि, कोरोनाको पहिलो लहर सुरु भएसँगै सरकारले २०७६ चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो । पहिले झण्डै चार महिना पूर्ण लकडाउन गरिएको भएपनि यसपटक आवश्यकता हेरेर स्थानीय प्रशासनले नै लकडाउन वा निषेधाज्ञाको निर्णय गर्न सक्ने व्यवस्था सरकारले गरेको छ ।





  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार ९:२६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया