नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता भुलेर सरकारमा बसिरहेको गुनासो गरेका छन्।
बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। पौडेलले नेपालमा अहिले लोकतन्त्रमाथि गम्भीर खेलबाड भइरहेको पनि बताएका छन्। 'नेपालमा सबैभन्दा ठूलो चिन्ता लोकतन्त्रमाथि यत्रो खेलबाड भइरहेको छ । सत्ता हत्याएपछि, सत्तामा पुगेपछि, चाहे त्यो पार्टीको सत्ता होस् चाहे त्यो राज्यको सत्ता, जब सत्तामा पुग्छन् अनि त्यहाँ बसेर अन्धाधुन्ध कमिसनको खेल चल्छ', उनले भने, 'अरबौँका खेलहरु हुन्छन् । जसरी पनि आफू सत्तामा टिकिरहने, जसरी पनि सत्तालाई आफ्नो ग्रिपबाट उम्कन नदिने र लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकता भन्ने कुरा केही पनि नराख्ने काम भएका छन्।'
पौडेलले प्रधानमन्त्रीलाई नकचरोको संज्ञा दिएका छन्। 'प्रधानमन्त्रीले गरेको विघटन गरेको प्रतिनिधिसभालाई जब अदालतले फर्काइदियो, एक मिनेट पनि बस्नु हुन्थेन । उनले तुरुन्तै राजीनामा गर्नुपर्थ्यो । उल्टो उनी नकचरो भएर के के भनिरहेका छन्', पौडेलले भने, 'यो संसदको के काम ? यो त विकृति ल्याउँछ । विकृति कसले ल्याइरहेको छ ? विकृति त अहिले सत्तामा रहेका मुठ्ठीभर केही नेताहरुले ल्याएका छन्। चाहे पार्टी सत्ता होस्, चाहे केन्द्रीय सत्ता होस्, सरकारको राज्यसत्ता होस्, तिनीहरुले देशमा विकृति ल्याएका छन्।'
पौडेलले चुनावमा जानुपर्छ भन्नेले गण्डकी प्रदेशमा रमिता देखाएको पनि बताए। 'चुनावमा जानुपर्छ, यो संसद काम छैन भन्ने प्रधानमन्त्री अहिले पोखरामा के गर्दैछन् ? लुम्बिनीमा के गरे ? लुम्बिनीमा के गर्दैछन् ? यहाँ केन्द्रमा के गर्दैछन् ? अप्राकृतिक गठबन्धन गर्दैछन्', पौडेलले थपे, 'लोकतन्त्र भनेको मर्यादापूर्ण व्यवस्था हो । जीवनपद्धति हो । तर त्यता वास्तै छैन । मूल्य मान्यताप्रति वास्तै छैन । देश र जनतामा के असर पर्छ भन्ने वास्तै छैन । आमजनतामा राजनीति र व्यवस्थाप्रति नै वितृष्णा फैलाउने काम नेताहरुले गरिरहेका छन्। त्यसो भएकाले हाम्रो पार्टीबाट पनि देशको राज्यसत्ता भित्र अहिले जुन खेलहरु भइरहेको छ, यसले चिन्तित बनाएको छ।'
पार्टीभित्र परेको खटपटलाई आधार बनाएर प्रधानमन्त्रीले संसदमाथि प्रहार गरेको पनि उनले बताए। 'प्रधानमन्त्रीको कदम गलत सावित भइसकेपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई तुरुन्तै राजीनामा गर भन्नुपर्ने थियो। राजीनामा नगरेपछि अविश्वासको प्रस्ताव सदनमा पेश गर्नुपर्ने थियो', पौडेलले भने, 'संख्या जतिसुकै होस् कर्तव्य र दायित्व त पूरा हुन्थ्यो नि । हामी चाहिँ यहाँ जोखाना हेरेर बस्ने ? जोखाना हेरेर बस्दा पहिलो अवसर गुम्यो । जुन बेलामा एमाले र माओवादी बनाएर अदालतले फैसला गरेको थिएन।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।