मकवानपुरमा ३ सय नाघ्यो सक्रिय संक्रमित, आइसोलसनदेखि अक्सिजन प्लान्टसम्मको तयारी

मकवानपुरमा पछिल्लो समय लगातार कोरोना भाइरस संक्रमण थपिइरहेको छ । प्रशासनको फितलो कार्यान्वयन क्षमता र स्थानीयको लापरबाहीले कोरोना संक्रमण बढेको हो । मकवानपुरमा बिहीबार कोरोना भाइरसका ३८ जना नयाँ संक्रमित थपिएका छन् । हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार ७० जनाको पिसिआर परीक्षण गर्दा ३४ जना र १७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

बिहीबार परीक्षण गरिएका कुल ८७ जनामा ३८ जनामा कोरोना पोजिटिभ आएको निरीक्षक चौलागाईं​ले जानकारी दिए । कोरोना पुष्टि हुनेहरुमा १२ जना महिला र २६ जना पुरुष रहेका छन् । संक्रमितहरु हेटौँडा उपमहानगरपालिकासहित मनहरी, मकवानपुरगढी गाउँपालिकाभित्रका छन् । हेटौंडाकै ठेगाना नखुलेका एकजना र बारा जिल्लाको निजगढ नगरपालिकाका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै मकवानपुरमा तीन सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन् । 

कोरोना संक्रमितलाई आइसियू 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालद्वारा कोभिड १९ संक्रमितको उपचारका लागि शुक्रबारबाट आइसियू कक्ष सञ्चालनमा आउने भएको छ ।  सुविधासम्पन्न १४ बेडको आइसियूहरु तयार पारिनुका साथै एचडियू ६ भेन्टिलेटरसहित बेडको संख्या २० रहेको बताइएको छ । छोटो समयमै तयार पारिएको यो आइसियू कक्षलाई ५० बेडसम्म पुर्याइने बताइएको छ ।
  
यस्तै, मकवानपुरमा कोरोना नियन्त्रणको प्रयासमा सबै स्थानीय तह एकजुट भएका छन् । जिल्लाका भीमफेदी गाउँपालिकाबाहेकका अन्य स्थानीय तहले आइसोलेसन तयार गरेका छन् । स्थानीय तहलाई आइसोलेसन सञ्चालनको जिम्मेवारी दिइएपछि जिल्लाका स्थानीय तहहरुले आइसोलेसनको तयारी गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । 

स्थानीय तहमा आइसोलसनदेखि अक्सिजन प्लान्टसम्म  

मकवानपुरका  स्थानीय तहहरुमा सञ्चालन हुने आइसोलेसन वार्डहरुमा अक्सिजन प्लान्ट जडान हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आग्रहअनुसार सबै स्थानीय तहले अक्सिजन प्लान्ट खरिद गरी आइसोलेसनमा जडान गर्ने भएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले बताए । 



हेटौँडा उपमहानगरपालिकाले गौरिटारमा १२० शय्या क्षमताको आइसोलेसन सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिले जनाएको छ । गौरिटारमा अहिले २५ बेड सञ्चालनमा छ । केही दिनमा नै १२० क्षमताको आइसोलेसन सञ्चालन ल्याउने तयारी रहेको जिसस प्रमुख खुलालले बताए । उक्त स्थानमा आवश्यक परेमा १५० जनासम्म सहज रुपमा व्यवस्थापन गर्न सकिनेछ ।

 ‘गौरिटारमा अक्सिजन सुविधासहितको आइसोलेसन सञ्चालनमा आउनेछन्,’ खुलालले भने । यस्तै, मकवानपुरगढी गाउँपालिकामा १५ बेड क्षमताको आइसोलेसन सञ्चालनमा रहेको छ । इन्द्रसरोवर गाउँपालिकामा १२ बेड, कैलाश गाउँपालिकामा १० बेड, बागमती गाउँपालिका १० बेड, बकैया गाउँपालिकामा २० बेड र मनहरी गाउँपालिकामा २४ बेडको आइसोलेसन तयार रहेको जिसस प्रमुख खुलालले बताए । यस्तै, राक्सिराङ गाउँपालिकामा एक साताभित्र २६ बेडको आइसोलेसन तयार हुने उनले बताए । 



थाहा नगरपालिकाले २० बेडको आइसोलेसन तयार गरेको छ । २० बेडको आइसोलेसनको तयारी भइरहेको छ भने १० बेडको आइसोलेसन आवश्यकताअनुसार थप हुनेछ । थाहा नगरपालिकामा ५० बेडको आइसोलेसन सञ्चालन हुने भएको छ । तर, भीमफेदी गाउँपालिकामा भने आइसोलेसन निर्माणका लागि स्थान अभाव भएकाले तयारी नभएको उनले बताए ।

परीक्षणको दायरा बढाइने                       

जिल्लामा पिसिआर परीक्षणको दायरा बढाइने भएको छ । अहिले हेटौँडा अस्पतालको पिसिआर मेसिनबाट परीक्षण भइरहेको छ भने केही एन्टिजेन विधिबाट पनि परीक्षण भएको छ । डिसिसिएमसीले कोरोना परीक्षणको दायरा बढाउन किटजन्य रोग अनुसन्धान केन्द्रको पिसिआर मेसिन पनि प्रयोगका लागि आग्रह गरेको छ ।      

हेटौँडा अस्पतालमा गरिने परीक्षण निःशुल्क हुने भएको छ । देशभर नै किटको अभाव भएको भन्दै उनले किट पाइने अवस्था सहज भएमा स्थानीय तहहरुले खरिद गर्न तयार रहेको बताए । 
 

  • प्रकाशित मिति : बैशाख १६, २०७८ बिहीबार २०:४८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया