नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमले २० वर्षपछि इराकको टिमसँग फुटबल खेल्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले जेठमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ । हिजो बिहीबार एन्फाले मैत्रीपूर्ण खेल तय भएको जनाएको हो ।
नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । नेपालले तीनवटै खेलमा हार ब्यहोरेको छ । अब जेठ १५ (मे २९)मा इराकको बास्रा अन्तर्राष्ट्रिय रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ ।
पछिल्लो पटक नेपालले विश्वकप छनोटमा इराकसँग सन् २००१ को अप्रिल २३ मा खेलेको थियो । जुन खेलमा नेपाल ४-२ गोल अन्तरले पराजित भएको थियो ।
विश्वकप छनोट अन्तर्गत नै २००१ को अप्रिल १४ मा भएको खेलमा नेपाल ९-१ ले पराजित भएको थियो । त्यसअघि, पहिलो पटक नेपालले एसियन गेम्समा इराकसँग खेलेको थियो । १९८२ मा भएको खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।
विश्वकप छनोट खेलिरहेको इराकले तयारीका लागि नेपालसँग मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको हो । जुन प्रस्ताव नेपालले स्वीकार गरेको छ । फिफा वरियतामा इराक ६८ औँ स्थानमा रहेको छ भने नेपाल १७१औँ स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।