रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने तीनजनालाई कारागार पठाइयो

कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा उल्लंघन गरेको अभियोगमा रुपन्देहीमा तीन जनालाई कारागार पठाइएको छ। पक्राउ परेकामध्ये निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कैद सजाय माग गरेको थियो। 

जसमा ५ जनाले जरिवाना बुझाएर रिहा भएका छन्। अन्य ३ जनाले जरिवाना बुझाउन नसकेकाले कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कारागार चलान भएकामा मायादेवी गाउँपालिका-४ का २७ वर्षीय दिनेश यादव, मायादेवी-२ का ३४ वर्षीय महेन्द्र कोहार र  सिद्धार्थनगर नगरपालिका-८ का २८ वर्षीय श्याम दुवे रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए ।

कोरोना संक्रमण रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबारदेखि वैशाख ३० गतेसम्म १५ दिन लामो निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी भएको अवस्थामा कामबिना सडकमा हिँडेका ७ पुरुष र १ महिलालाई सम्झाइबुझाइ गरिएको थियो। तर उल्टै उनीहरुले प्रहरीको काममा बाधा गरेपछि कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पठाइएको थियो।

उनीहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम जिल्ला प्रशासनले कैद सजाय तोकेपछि जेल पठाइएको डिएसपी थापाले बताए। पक्राउ परेका ७ पुरुषलाई एक महिना कैद वा जनही ९ हजार १ सय जरिवाना प्रशासनले तोकेको थियो। पक्राउ परेकी महिलालाई ६ सय जरिवाना तोकिएको थियो।

४ जना पुरुष र १ महिलासहित ५ जनाले कैद र जरिवाना वापतको रकम दाखिला गरेर छुटे। तर अरु ३ जनाले जरिवाना रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन्। 





  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १२:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया