सत्ताका लागि 'गाईजात्रा' : हराएका सांसद आइसियुतिर, मनाङेलाई मन्त्री पद उपहार !
संसदीय राजनीतिमा दिक्क लाग्दो फोहोरी खेल

गण्डकी प्रदेशका एक सांसद बुधबार अचानक ‘बेपत्ता’ भए । बेपत्ता भएका राष्ट्रिय जनमोर्चाबाट निर्वाचित खिमविक्रम शाही अस्पतालको आइसियुमा फेला परे । ती सांसदले नेपालको संसदीय राजनीतिलाई पनि ‘आइसियू’ मै पुर्‍याउने काम गरेको चर्चा राजनीति वृत्तमा चलेको छ।

उनीसँगै अर्का एक सांसद दीपक मनाङे पनि बुधबार दिनभर फोन नै अफ गरेर गायब भएका थिए । मनाङे बिहीबार भने ‘लेनदेन’ मिलाएर गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनिसकेका छन् ।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि कर्णालीमा ‘फ्लोर’ क्रस हुँदै गण्डकीमा देखिएको यो नाटकीय शैलीले संसदीय व्यवस्थाको ‘भद्दा मजाक’ गरिरहेको विश्लेषकहरुको बुझाइ छ ।

भएको के हो ?

गण्डकी प्रदेश सभामा बुधबार दिउँसो मतदान थियो, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथिको अविश्वास प्रस्तावमा ।

सरकारको भविष्यको फैसला जनप्रतिनिधि गर्दै थिए। अविश्वास प्रस्ताव कांग्रेस, माओवादी र जसपाका सांसदहरुले दर्ता गरेका थिए । ६० सदस्यमध्ये कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई गरी ३१ जनाले अविश्वास प्रस्तावमा भोट हाल्ने गरी तयारी थियो । 



उनीहरू मंगलबार रातिसम्म विश्वस्त पनि थिए । जब बैठक सुरु भयो, अनि अविश्वास प्रस्ताव दर्ता गर्नेहरुकै छटपटी सुरु भयो । 

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई बैठकमा नदेखेपछि माओवादी र कांग्रेसका सांसदहरु उनलाई खोज्नतिर लागे। उनी बैठकमा नभएको सूचना सभामुखलाई पुर्‍याएर बैठक केही बेरका लागि स्थगित समेत भयो । सांसद शाहीलाई खोज्दै उनको डेरासम्म पुगेका नेताहरुले अन्ततः उनलाई अस्पतालको आइसियुमा फेला पारे ।



अघिल्लो दिनको संसद बैठकमा कोरोना परीक्षण नगरी संसद चल्न दिँदैनौँ भनेर विरोध गर्नेमध्ये उनी पनि थिए । रोचक त के भने अघिल्लो दिन गरेको परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ देखिएका उनी भोलिपल्ट कोरोना ‘पोजेटिभ’ देखिएर आइसियुमा भर्ना भएका रहेछन् ।

जब कि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले उनी कोरोना नेगेटिभ भएको रिपार्ट बुधबार बिहान नै दिएको थियो।

शाही ‘बेपत्ता’ले सत्तापक्षलाई राहत

सत्ता समीकरणमा सांसद शाही कति महत्त्वपूर्ण थिए भन्ने त्यहाँको अंकगणितको तस्विरले देखाउँछ। जब बुधबार ‘जनमोर्चा’का सांसद शाही ‘बेपत्ता’ भए, प्रतिपक्ष दलहरू तनावमा देखिए भने सत्तापक्ष सांसद उत्साही ।

चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा केन्द्रले नै अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने प्रदेश सभा बैठकमा उपस्थित थिए । 

जब कि अविश्वासको प्रस्ताव पारित गर्न ३१ सांसद आवश्यक पर्नेमा शाहीको अनुपस्थितिले ३० जना मात्र हुने भएपछि प्रस्ताव फेल हुने खतरा थियो । मतदानमा शाहीको अनुपस्थिति सत्ता समीकरणको दृष्टिकोणले निर्णायक थियो । 

प्रदेशसभामा एमालेका २७ जना सांसद थिए । बिहीबार मनाङबाट प्रत्यक्ष निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बनेसँगै अब सत्तासँगको अंक गणित प्रष्ट २८ देखिएको छ । 

मतदान पूर्वसम्म मुख्यमन्त्री स्पष्ट अल्पमतमा थिए। अल्पमतमा परेपछि एमालेले अविश्वासको प्रस्तावको अघिल्लो दिन संसद् अवरोध गरेको थियो । मंगलबारको बैठकमा सत्तापक्षका सांसदले उठेर कोरोना परीक्षणको विषय उठाउँदै बैठक अवरुद्ध गरेका थिए ।

बैठक अवरोधबारे एमाले सांसद राजीव पहारीले कोरोना परीक्षण नगरी बैठक बस्नु सबैका लागि खतरा रहेको बताएका थिए । त्यसअघि अविश्वास प्रस्ताव दर्ताको सूचनापछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यरातमा संसद् अधिवेशन अन्त्य गराएका थिए ।

जनमोर्चाको निवेदनले रोकिएको बैठक

अविश्वासको प्रस्तावमाथि छलफल गर्ने दिन सांसद नै गायब भए । प्रदेश सभा बस्न सकेन ।

नाटकीय रूपमा ‘बेपत्ता’ जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात रहेको र अवस्था थाहा नहुँदासम्म संसद्को कारबाही रोक्न उनकै पार्टीका सचेतक पियारी थापाले निवेदन दिइन् । शाहीको खोजी माग गर्दै पेस भएको निवेदनका कारण गण्डकी प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्ताव उपरको मत विभाजन रोकिएको छ ।

उनकै निवेदनको व्यहोरा उल्लेख गर्दै प्रदेश सभा सचिव हरिराज पोखरेलले थापाको निवेदनमाथि सम्बोधन नगरी सदन सञ्चालन गर्न उपयुक्त नभएकाले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको सूचनामार्फत जानकारी दिए ।

बुधबार १ बजेका लागि बोलाइएको बैठक १:४० मा सुरु भएको थियो । ४ बजे सभामुखले खाजाका लागि भन्दै २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । सोही समय थापाले निवेदन दिएपछि सभामुखको त्यही निवेदनलाई आधार मान्दै बैठक अनिश्चितकालका लागि स्थगित गरे ।

शंकास्पद रिपोर्ट

मंगलबार स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएका सांसद मनाङे र शाही अनुपस्थित भएपछि उनीहरू कहाँ गए भनेर खोजी सुरु भएको थियो । जब ‘बेपत्ता’ शाही अस्पतालमा भेटिए, केही शंकास्पद रहस्य खुल्न थाले ।

लाइफ केयर डाइग्नोस्टिक सेन्टरमा परीक्षण गरिएको पोजिटिभ रिपोर्टमा उल्लेख भएअनुसार मंगलबार ४ बजे सांसद शाहीको स्वाब संकलन गरिएको छ। उनको पोजिटिभ रिपोर्ट बुधबार बिहान ७:३० बजे प्राप्त भएको छ ।

संसद् परिसरमा परीक्षण गरिएको समय उल्लेख छैन । त्यसको रिपोर्ट भने बुधबार बिहान ७ः २० मा प्राप्त भएको हो ।

संसदमा उपस्थित नभई चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका सांसद शाहीलाई भेट्न बुधबार राति मुख्यमन्त्री गुरुङ र आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ अस्पताल पुगेका थिए । उनीहरु त्यहाँ पुगे पनि नभेटी फर्किए ।

मनाङे मन्त्री, संसदीय राजनीतिको भद्दा मजाक !

विवादित छवि बनाएर राजनीतिमा होमिएका दीपक मनाङे भनिने राजीव गुरुङ भने मन्त्री बनेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका हुन् । 

सत्ता टिकाउन जस्तोसुकै अवस्था जस्तोसुकै निर्णय गर्ने केन्द्रको नीति विस्तारै प्रदेशहरूमा पुग्दै गएको जानकारहरु बताउँछन् । ‘किनबेच या अपहरण, मोलमोलाई नेपालको इतिहासमा अत्यधिक रुपमा प्रचलित भइरहेकै इतिहास छ ।’ राजनीतिक विश्लेषक राजेन्द्र महर्जन भन्छन्, ‘यसले राजनीतिक दलहरूको नैतिकता, शाखमाथि ठूलो प्रश्न उब्जाउने काम भएको छ ।’

संविधान लेखनको क्रमदेखि पछिल्लो २ वर्षको इतिहास झनै धुमिल रहेको बताउँदै उनले भने, ‘कसले कसलाई कतिबेला धोका दिने भन्ने अनुमान समेत गर्न नसकिने भयो ।’ 

शासक र प्रतिपक्षीलाई कोरोनाको महामारीभन्दा पनि कुनै राजनीतिक सत्ता र आफ्नो स्वार्थ मात्र रहेको उनको बुझाइ छ ।

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १६:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया