कोरोनाले उपत्यकाका अस्पताल भरिभराउ : खाली छैनन् आइसियु र भेन्टिलेटर
डाक्टर भन्छन् : आइसियु, भेन्टिलेटर पाउने बिरामी भाग्यमानी!

भक्तपुरकी एक २२ वर्षीया कोरोना संक्रमितलाई आइसियू बेडको अभावमा कुनै पनि अस्पतालले भर्ना लिन मानेनन्। उपत्यकाका सबै अस्पतालमा फोन गर्दा सबैबाट बेड खाली छैनन् भन्ने जवाफ मात्र आयो। उता बिरामीको अवस्था अत्यन्तै जटिल बन्दै गएपछि उनी छटपटाउन थालिन्। 

अन्ततः भक्तपुर अस्पतालले उनको लागि एक आइसियु बेड खाली गर्‍याे। आइसियुमा रहेका अर्का बिरामीलाई नर्मल वार्डमा सारेर उनलाई आइसियुमा राखेपछि उनी छटपटाउन छाडिन्। उनको परिवारजनमा बाँच्ने आशा पलायो। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एकै राति दुई जना कोरोना संक्रमितको मृत्यु भयो। आइसियुमा उपचाररत दुवैलाई बचाउन सकिएन । ती दुई जनाको मृत्यु भएपछि अर्का दुई गम्भीर बिरामीले आइसियू बेड पाए। 

बाँच्ने आश छाडिसकेका ती दुई बिरामीका लागि अर्का दुई बिरामीले ज्यान गुमाएपछि मात्रै आइसियू बेड पाउन भने निकै जटिल अवस्था आइसकेको संकेत हो। एक सातादेखि टेकु अस्पतालमा आइसियू र भेन्टिलेटर खाली छैन।  

अस्पतालका डा.अनुप बाँस्तोलाले नयाँ बिरामीलाई भर्ना गर्नका लागि या पुरानो बिरामी निको भएर डिस्चार्ज हुनुपर्ने या त मरेपछि मात्रै बेड खाली हुने गरेको बताए।

‘अहिले हाम्रोमा यस्तो अवस्था आइसकेको छ। एकातिर पुराना बिरामीलाई नै कसरी उपचार गर्ने भन्ने चिन्ताले सताइरहन्छ। अर्कोतिर नयाँ बिरामीलाई कसरी आइसियुमा व्यवस्था गर्ने भन्ने समस्या छ। अब त हामी भगवान भरोसामा बसेका छौँ,’ डा. बाँस्तोलाले भने। 



काठमाडौं उपत्यकाका १४ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये अन्य निजी अस्पतालले पनि कोरोना संक्रमितको उपचार थालेका छन्। सबै अस्पतालका आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन्। त्रिवि शिक्षण अस्पतालमा अहिले १५ जनाको आइसियू र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। त्यहाँ आइसियू र भेन्टिलेटरको अभाव भएको एक साताभन्दा बढी समय भइसक्यो। 

शिक्षण अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. शान्तकुमार दासले आइसियू र भेन्टिलेटर पाउने बिरामी निकै भाग्यमानी सावित हुने बताए। तत्काल क्षमता विस्तार गर्न पनि नसकिने भन्दै दिनप्रतिदिन र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या बढिरहेको जानकारी दिए।



‘शिक्षण अस्पतालका बेड भरिएको एक हप्ताभन्दा बढी भइसक्यो। नयाँले ठाउँ पाउने भनेको त कि त पुरानो डिस्चार्ज हुनुपर्यो, या त कसैको मृत्यु हुनुपर्यो ।’ अस्पतालको कहालीलाग्दो अवस्थाबारे डा. दासले भने। काठमाडौं उपत्यकाका कोभिड–१९ उपचार गर्दै आएका अस्पतालहरूले अब थप बिरामीको उपचार गर्न नसक्ने जनाएका छन्।

उपत्यकाका १४ वटा अस्पतालमा ११६ जनाको आइसियुमा र ५९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक अस्पतालमा थप क्षमता विस्तारको काम भइरहेको जनाएको छ। अहिलेका अस्पतालको क्षमता बिस्तार तथा नयाँमा उपचार गर्ने गरी काम भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

काठमाडौं उपत्यकामा अहिले सशस्त्र प्रहरी बल अस्पताल, बलम्बु, वीरेन्द्र अस्पताल छाउनी, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल, भक्तपुर अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ह्‍याम्स अस्पताल, नेपाल मेडिसिटी अस्पताल, स्टार अस्पताल र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा कोरोना संक्रमितको उपचार भइरहेको छ।  

भिडियो

  • प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार १८:३६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया