कोरोनाले रोजगारी गुमाएर फर्किएकासँग चर्को भाडा असुल्छन् यातायात व्यवसायी
भारतबाट फर्किएर गौरीफन्टा नाका आएका नेपालीहरु । तस्बिर : फरकधार

कोरोना महामारीका बेला भारतबाट सीमा नाका गौरीफन्टा आइपुगेका नेपालीसँग यातायात व्यवसायीहरुले मनोमानी तवरले भाडा असुलिरहेका छन्। निषेधाज्ञाको मौका छोप्दै यातायात व्यवसायीले अचाक्ली ढंगले भाडा लिइरहेका हुन्।

नियमित भाडा भन्दा तीनगुणा बढी लिने गरेको भारतका विभिन्न ठाउँ बाट गौरीफन्टा आइपुग्नेहरुले गुनासो गरिरहेका छन्। नाकामा दर्जनौँ गाडीहरु भएपनि हरेकले आ–आफ्नै तरिकाले भाडा असुल्ने गरेको डोटी बोगटान गाउँपालिका–७ घर भएका प्रविन कुँवरले बताए।

कोरोना महामारीले भारतमा नोकरी गुमाएर फर्किएका उनी गाडीवालाले चर्को असुली गर्दा थप मारमा परेको गुनासो गर्छन्। ‘भारतमा नौकरी सकिँदा त्यसैपनि साथमा पैसा छैन’ कुँवरले भने, ‘जेनतेन नेपालमा पुगे पनि गाडीवालाले चर्को भाडा लिँदा समस्या भएको छ ।’

उनका अनुसार सीमा नाकामा लामबद्ध राखिएका सवारी छन्। व्यवसायीले यात्रु हेरेर बार्गेनिङ गर्ने गरेका छन्। डोटीको भाडा ५३५ रुपैयाँ मात्र छ, अहिले एक हजारदेखि तीन हजारसम्म मागिरहेको उनी सुनाउँछन्। ‘हामी मजदुरहरुको ढाड सेक्ने काम भएको छ’ कुँवर भन्छन्। 

भारतबाट नेपालको सीमा नाकासम्म आउँदा पनि नेपाली टुर एण्ड ट्राभल व्यवसायीहरुले मनपरी रुपमा भाडा असुल्ने काम गरिरहेको यात्रुहरुको छ।



भारतको दिल्लीबाट फर्किएका बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ घर भएका जोगविन रावलले तोकिएको भन्दा हजार रुपैयाँ बढी भाडा मागेको जानकारी दिए ।‘धनगढीबाट बाजुराको भाडा ८५० रुपैयाँ छ। तर, यहाँ गाडीवालाले २ हजार भाडा मागिरहेका छन्’ रावलले भने ।



भारतबाट आएकाहरुलाई स्थानीय प्रशासनले गाडी पास दिएर सम्बन्धित जिल्लामा पुर्‍याइरहेका छन्। यातायात व्यवसायीहरुले यात्रुहरुलाई अनावश्यक दुःख नदिएको जिकिर गरिरहेका छन्। 

भारतबाट फर्किएकालाई कुनै समस्यामा नपारेको बरु संक्रमणको जोखिम मोलेर सेवा दिइरहेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटा बताउँछन्।  


स्थानीय प्रशासनले उपलब्ध गराएको पासका आधारमा भारतबाट फर्किने यात्रु बोक्न सवारी साधन सञ्चालन गरिएको उनले जानकारी दिए ।

सीमा नाकामा यात्रु तानातान गर्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने जस्ता गुनासाहरू सुनिन थालेकाले त्यसो गर्ने व्यवसायी र मजदुरलाई कारवाही गरिने प्रतिवद्धता सापकोटा गरे। 

कसैले निर्धारितभन्दा बढी भाडा लिएमा सीमामै खटिएका सुरक्षाकर्मीलाई तत्कालै खबर गर्न उनले अनुरोध गरेका छन्। 

कोरोना कहरका बेला भारतबाट फर्किने यात्रुको भाडा निर्धारित भाडादरमा ५० प्रतिशत थप भएको यातायात व्यवसायी महासंघले जनाएको छ। ‘

कैलाली र कञ्चनपुरमा निषेधाज्ञा भएका कारण अहिले सञ्चालनमा रहेका सवारी साधनले एकतर्फी मात्र यात्रु पाइरहेको अवस्था छ,’ सापकोटाले भने ‘स्थानीय प्रशासनले नै कुल भाडादरको थप ५० प्रतिशतसम्म लिन पाउने व्यवस्था मिलाएको छ । सोहीअनुसार भाडा लिइएको हो ।’

गौरीफन्टा नाकामा कैलाली र कञ्चनपुर दुवै जिल्लाबाट सुरक्षाकर्मी परिचालित भएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरु २४ सै घण्टा सीमा नाकामा तैनाथ छन्। यात्रुलाई बढी भाडा असुली गर्दा उनीहरु मूकदर्शक बनेको आरोप सर्वसाधारणको छ। अन्य कुराको समस्यामा पनि सुरक्षाकर्मीले सहयोग नगरेको गुनासो  छ। 

‘उनीहरु न यात्रुहरुलाई सहजीकरण गरिदिन्छन् न उनीहरुले भोग्नु परेको पीडा सुन्छन्,’ एक यात्रुले गुनासो पोखे, ‘नेपालको प्रहरी प्रशासन नै निकम्मा भएपछि हामी मजदुरले दुःख नपाउने कुरै भएन।’

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सुरक्षाकर्मीसँगै यात्रुको सहजीकरणका लागि नाकामै प्रशासन कार्यालयबाट समेत प्रतिनिधि खटाइएको जानकारी दिए। यातायात व्यवसायीसँगकै सहमतिमा भाडादर कायम गरिएकाले तोकिएभन्दा बढी असुल्नेलाई कारवाहीको दायरामा ल्याइने प्रजिअ रिजालले बताए।

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार ११:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया