विमला वलीको प्रतिक्रिया : मलाई माओवादीले नै जिताएकाले त्यतै लागेँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई अफ्ठ्यारो पार्दै माओवादी केन्द्रतिर लागेकी दाङ प्रदेशसभा ३ (ख) की सांसद विमला वलीले आफूलाई माओवादीले नै जिताएको बताएकी छन्।

पति उत्तमकुमार वलीको निधनपछि तत्कालीन नेकपाले उनलाई उपनिर्वाचनमा उठाएर जिताएको थियो। सवारी दुर्घटनामा ज्यान गुमाएका वली एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य थिए।

विमलाले फरकधारसँग कुरा गर्दै आफू माओवादीमा प्रवेश गरिसकेको पुष्टि गरेकी छन्। फागुन २३ मा खारेजीमा परेको नेकपाबाट उपनिर्वाचन लडेकी उनीसहित मुख्यमन्त्री पोखरेलले बहुमत ४१ सांसदको हिसाब गरेका थिए। तर विमलाले माओवादी रोजेपछि पोखरेलसँग अब ४० मात्रै सांसद रहेका छन्। 

तर विमलाले अन्तिम अवस्थामा आएर माओवादीतिर लाग्ने निर्णय गरेपछि एकल बहुमतसहित फेरि मुख्यमन्त्री बन्‍ने पोखरेलको योजनामा धक्का लागेको छ। पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता पनि हुन्।

सांसद वली दाङबाट हिँडेपछि अचानक गायब भएको बताइएको छ। उनी अहिलेसम्म एमालेको सम्पर्कमा आएकी छैनन्। तर उनले फरकधारसँग कुरा गर्दै माओवादीमा लागिसकेको बताएकी छन्। 

'हो म माओवादीमा प्रवेश गरिसकेकी छु', उनले भनिन्, 'मलाई माओवादीले नै जिताएकाले यो निर्णय लिएकी हुँ।' यसैबीच माओवादीले विमला पार्टी प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई दिइसकेको छ।



उता विमला पनि माओवादीतिर लागेपछि कुलप्रसाद केसीको पक्षमा बहुमत पुग्ने अवस्था आएको छ। जनता समाजवादी पार्टी नेपालका नेता मोहम्मद इस्तियाक राइनले लुम्बिनीको खेल अझै नसकिएको बताएका छन्। उनले पोखरेलसँग बहुमत नरहेको भन्दै केसी बहुमतसहित प्रदेश प्रमुखकहाँ जाने बताएका छन्।

'शंकर पोखरेलसँग एकल बहुमत छैन', उनले भनेका छन्, 'अर्को दाबी बहुमतसहित जाँदै, पिक्चर अझै बाँकी छ।' उनको आशय हो माओवादी नेता केसीले मुख्यमन्त्री दाबी गर्दैछन्। 



उनले मुख्यमन्त्रीमा दाबी गर्न माओवादीका १८, कांग्रेसका १९, जसपाका २ र जनमोर्चाका एकजना सांसदको साथ लिनुपर्ने हुन्छ। अब बिमला पनि माओवादीतर्फ गएपछि बहुमत अर्थात् केसीको पक्षमा सांसद संख्या ४१ भएको छ।

राइनका अनुसार तीनदेखि चार दलको समर्थनमा माओवादी नेता केसी आजै एक बजे सरकारको दाबी गर्न जाने भएका छन्। केसीले ४१ जना सांसदको हस्ताक्षरसहित आफूसँग बहुमत रहेको दाबी प्रस्तुत गर्ने भएका हुन्। तर यहाँनिर जसपालाई आफ्ना चार सांसद कारबाही गरेको घाटा पर्ने भएको छ। 
 

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १३:२६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया