कर्णाली प्रदेशको सबैभन्दा ठूलो अस्पताल प्रदेश अस्पतालमा अक्सिजनको चरम अभाव देखिएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै संक्रमित बिरामीले अस्पताल भरिभराउ भएपछि आवश्यक अक्सिजनको अभाव भएको हो ।
नेपालगन्जबाट दैनिक अक्सिजनका सिलिन्डर आयात गरिरहेको अस्पतालमा सिलिन्डर तानातान समेत हुने गरेको छ । २५ बेडको आइसोलेसन सेन्टर रहेको अस्पतालमा ४५ जना कोरोना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । अत्यधिक मात्रामा बिरामी आएपछि केही बेड थप गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले भने, ‘एक जनालाई औषतमा दैनिक ३–४ वटा सिलिन्डर अक्सिजन आवश्यक पर्छ । हाल नेपालगञ्जबाट दैनिक १२० देखि १५० सिलिन्डर अक्सिजन आयात हुने गरेको छ । त्यो संख्या एकदमै अपुग हो ।’
छिमेकी जिल्ला बाँकेमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । कोरोनाका कारण त्यहाँका सबैजसो अस्पताल भरिएका छन् । यस्तो अवस्थामा आयातमा अवरोध भएमा वा अन्य केही समस्या आएको अवस्थामा अक्सिजन नपाई बिरामीले मर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।
कर्णालीमा नेपालगन्जबाहेक अन्य ठाउँबाट अक्सिजनको आयात हुँदैन । प्रदेश अस्पतालमा दुईवटा अक्सिजन प्लान्ट रहेका छन् । तर, त्यसले सिलिन्डर भर्दैन, एउटा बिग्रिएको अवस्थामा छ भने अर्कोले पाइपबाट मात्रै अक्सिजन दिने गरेको छ ।
अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी
प्रदेशभर देखिएको चरम अक्सिजन अभावको समस्यालाई समाधान गर्नका लागि कर्णाली प्रदेश सरकारले दशवटै जिल्लामा रहेका अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी नोदनारायण चौधरीले एक साताभित्र सबै अस्पताललाई अक्सिजन प्लान्ट जोड्न आग्रह गरिएको बताए ।
‘हामीले अक्सिजनका लागि सबै जिल्ला अस्पताललाई पत्राचार गरिसकेका छाँै । सबै जिल्लामा बजेट पनि गइसकेको छ । जिल्ला अस्पताल मुगु, हुम्ला, दैलेख, सल्यानमा, जाजरकोट, मेहलकुना अस्पताल सुर्खेतले टेण्डर प्रक्रियामा गएका छन्’, उनले भने ।
यस्तै रुकुम पश्चिम, कालिकोट, जुम्ला लगायतका सबै क्षेत्रमा अक्सिजनको आयातमा प्रदेश सरकार लागेको बताए । हाल रुकुम पश्चिमले दाङ र अन्य सबै अस्पतालले नेपालगञ्जबाट आवश्यक अक्सिजन आयात गर्ने गरेका छन् । यदि नेपालगञ्जबाट आयात बन्द भएको अवस्थामा अक्सिजनको हाहाकार नै मच्चिने देखिन्छ । प्रदेशमा अक्सिजन सिलिन्डरको भण्डार शून्य छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।