सांसद तानातानबीच शंकर पोखरेल फेरि मुख्यमन्त्रीमा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा फेरि एमाले संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन्। उनलाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्य मन्त्रीमा नियुक्त गरेका हुन्। 

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गरिएको हो।

पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए।

मुख्यमन्त्री शंकर पोखरेलले आजै राजीनामा दिएर एकल बहुमतको सरकार बनाउने तयारी गरेका थिए। यसअघि उनी जनता समाजवादी पार्टी र एमाले मिलेर बनेको गठबन्धनको सरकारको नेतृत्व गरिरहेका थिए। 

पोखरेल नेतृत्वको सरकारमा जनता समाजवादी पार्टीबाट चारजना मन्त्री थिए। उनीहरुसँगको सल्लाहमै पोखरेलले राजीनामा दिएर एकल बहुमतको सरकारको नेतृत्व लिएका हुन्। 

लुम्बिनीमा ८७ जना सांसद थिए। तर जसपाले चारजना र माओवादीले २ जनालाई निलम्बन गरिदिएपछि अब ८१ जना सांसद बाँकी छन्। यस्तोमा त्यहाँ एमालेका ४१ जना सांसदले एकल बहुमतको सरकार बनाउन पुग्थ्यो। यस्तोमा दाङबाट निर्वाचित विमला वली माओवादीतिर लागेकी थिइन्। यही कारण बहुमत नपुग्ने भन्दै पोखरेलको नियुक्ति रोक्न मागसहित ४० सांसद प्रदेश प्रमुखकहाँ पुगेका थिए। 



लुम्बिनी प्रदेशसभामा  माओवादी केन्द्रका १८ जना र नेपाली कांग्रेसका १९ जना सांसद छन् । जनता समाजवादी दलका २ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। यस्तोमा एमाले एक्लैले सरकार बनाउने अवस्था थियो। तर वलीले गडबडी गरेपछि पोखरेलले सरकार बनाउन नसक्ने चर्चाबीच फेरि नियुक्ति लिएका हुन्।



  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १५:३६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया