सुदूरपश्चिममा अक्सिजनको चरम अभाव : पूर्व मन्त्रीले पत्नीको उपचारका लागि निजी अस्पतालबाट किने

कैलालीको जोशीपुर गाउँपालिकाका रामजनम चौधरी वैशाख १५ गते पत्नी सहित धनगढीस्थित कोभिड अस्पतलामा भर्ना भए । रामजनमको स्वास्थ्य अवस्था सामान्य भए पनि उनको पत्नीलाई सुरुदेखि अक्सिजन आवश्यक रहेको चिकित्सकले उनलाई सुझाए । पूर्व स्वास्थ्य मन्त्री रामजनमलाई चिकित्सकले अक्सिजनको हाहाकार छ व्यवस्था गर्नुहोस् भन्ने सल्लाह दिएपछि उनले जेनतेन जोहो गरे ।

पूर्व स्वास्थ्यमन्त्री चौधरीले पहिलो सिलिन्डर अक्सिजन पाए पनि दोस्रोका लागि भने धेरैलाई फोन गरे कहींबाट पनि नपाएपछि उनले साथीको च्यानलबाट नजिकै रहेको निजी सारथी अस्पतालबाट अक्सिजन ल्याए ।

‘कोभिड अस्पतालमा पत्नी सहित बेडमा छु’, रामजनमले भने, ‘मलाई अक्सिजन आवश्यक थिएन । मेडमलाई शनिबार फेरि अर्को सिलिन्डर अक्सिजन आवश्यक भएपछि धेरै ठाउँमा खोजी गरे । तर, कतै पनि नपाएपछि निजी अस्पतालमा जानु पर्‍यो ।’ उनले चिकित्सकहरू समेत बिरामीप्रति गम्भीर नभएको आरोप लगाए ।

‘शनिबारसम्म चिकित्सकहरू समेत आएनन् । आइतबारबाट अलि चिकित्सक हेरफेर सुरु गरेका छन्’, उनले भने । उनले प्रमुख जिल्ला अधिकार र अस्पतालका मेसुलाई समस्याको बारेमा जानकारी दिएको बताए । दोस्रो सिलिन्डर अक्सिजन दिए पछि मेडमको स्वास्थ्यमा सुधार हुँदै गएको उनले बताए ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमर भन्छन्, ‘कोरोना भाइरसका गम्भीर संक्रमितको संख्या बढ्दै गएको अवस्थामा यसको औषधी भनेकै अक्सिजन हो ।’ 

डा. कमरले भनेजस्तै अहिले अस्पतालमा भर्ना भएका सबै संक्रमितलाई अक्सिजन नै चाहिएको छ । दैनिक ७५ वटा अक्सिजन सिलिन्डर उत्पादन गर्नसक्ने क्षमता सेती प्रादेशिक अस्पतालको छ । तर, आफ्नै अक्सिजन प्लान्ट भए पनि अस्पतालले क्षमता अनुसारको अक्सिजन उत्पादन गर्न सकेको छैन ।



‘गर्मीका कारण लोड धान्न नसक्दा अक्सिजन प्लान्ट बेलाबेलामा बन्द हुने समस्या छ,’ अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठ भन्छन्, ‘त्यसैले हामीले क्षमताअनुसार अक्सिजन उत्पादन गर्न सकेका छैनौँ, अहिले दैनिक ५५ सिलिन्डर मात्र उत्पादन भइरहेको छ, उत्पादनको दोब्बर माग छ ।’

उनले सेतीमा रहेको अक्सिजन प्लान्टले सिलिन्डर भर्न नसकेपछि नेपालगन्जमा खाली सय वटा सिलिन्डर पठाएको बताए । आइतबार रातिसम्म नेपालगन्ज पठाएको सिलिन्डर पुगेपछि केही सहज हुने उनले अपेक्षा गरे । ‘संक्रमितहरू संख्या तीव्र छ । अक्सिजनको माग पनि त्यतिकै छ’, उनले भने । ‘बिरामीहरूको आवश्यकता हेरी अस्पतालले अक्सिजन वितरण गरेको छ ।’



श्रेष्ठले अस्पतालमा अक्सिजन सिलिन्डरको समेत अभाव रहेको बताए । कञ्चनपुरको महाकाली अस्पतालले पनि मागअनुसार अक्सिजन व्यवस्थापन गर्न सकेको छैन । धनगढी र नेपालगञ्जबाट यसअघि अक्सिजन आपूर्ति गर्दै आएको महाकाली अस्पतालले अहिले अक्सिजन पाइरहेको छैन । 

अर्कोतर्फ सुदूरपश्चिम प्रदेश सरकारले पनि सबैभन्दा ठूलो समस्या अक्सिजनको रहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकार अक्सिजनको आपूर्तिमा गम्भीर रहेको तर सुदूरपश्चिममा उद्योग कम हुँदा समस्या भएको बताउँछन् ।

‘धनगढीमा रहेको ग्यास उद्योगबाट १ सय र नेपालगन्जबाट १ सय सिलिन्डर अक्सिजन दैनिक आपूर्ति गर्ने व्यवस्था मिलाइरहेका छौँ,’ प्रवक्ता कार्की भन्छन्, ‘अक्सिजन प्लान्ट जडान, अक्सिजन कन्सेन्टेटर र सिलिन्डर खरिदका लागि सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र जिल्लास्तरीय अस्पताललाई बजेट दिएका छौँ ।’

कार्कीका अनुसार टीकापुर अस्पताल र प्रदेशका ६ वटा जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडानका लागि ८०/८० लाख बजेट पठाउन सुनिश्चितताको पत्र तयार भएको छ । त्यस्तै अक्सिजन कन्सेन्टेटर र सिलिन्डर खरिदका लागि सेती प्रादेशिक अस्पताललाई ४० लाख, महाकाली र टीकापुर अस्पताललाई ३०/३० लाख तथा अन्य ६ जिल्ला अस्पताललाई २०/२० लाख बजेट व्यवस्थापन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा अहिले गम्भीर प्रकृतिका संक्रमितलाई शय्या पाउनै मुस्किल छ । आइसियु र भेन्टिलेटरको सुविधा रहेको सेती र महाकाली अस्पतालमा त शय्या पाउन झनै समस्या देखिन्छ ।

प्रदेश सरकारले भने थप शय्या व्यवस्थापन भइरहेको जनाएको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा ४० र विभिन्न निजी अस्पतालमा २५ शय्या संक्रमितको उपचारका लागि व्यवस्थापन भइसकेको जानकारी दिए । 

‘धनगढीमा थप ५० शय्याको कोभिड अस्पताल निर्माण भइरहेको छ,’ उनी भन्छन्, ‘गेटा मेडिकल कलेजको भवनमा अस्थायी कोभिड अस्पताल सञ्चालनको पनि तयारी भइरहेको छ ।’

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १६:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया