मकवानपुरमा सय वर्षका पुरुषसहित १७१ लाई कोरोना :  १२ बजेपछि निषेधाज्ञा

मकवानपुर जिल्लामा १०० वर्षका पुरुषसहित १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६८ जनाको स्वाब नमुना परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको आइतबार जनाइएको छ । तीमध्ये १४९ जना संक्रमित हेटौंडा उपमहानगर क्षेत्रका नागरिक छन् । अन्य मकवानपुरगढी गाउँपालिकाका ५ जना, मनहरी गाउँपालिकाका ३ जना र मकवानपुरभन्दा बाहिर विभिन्न जिल्ला स्थायी ठेगाना भई मकवानपुरमै बस्दै आएका १४ जना छन् । संक्रमितमध्ये १८ वर्षभन्दा कम उमेरका १८ जना छन् ।

चार स्थानीय तहमा निषेधाज्ञा

मकवानपुरका चारवटा स्थानीय तहमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला सुरक्षा समिति मकवानपुरले निषेधाज्ञा लगाउने निर्णय गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सिफारिस गरेका आधारमा चार स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

मकवानपुरको हेटौंडा, मनहरी, भीमफेदी र थाहा नगरपालिकाका  क्षेत्रमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा गरिएको हो । मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रबाट दायाँ-बायाँ ५ सय मिटर वरपरसम्म निषेधाज्ञा गरिएको हो । निषेधाज्ञा यही वैशाख ३१ गते राति १२ बजे सम्मका लागि लगाइएको हो ।

जोखिम उच्च, कमजोर व्यवस्थापन

दोस्रो चरणको कोरोना संक्रमणको दर उच्च हुँदै गएको अवस्थामा मकवानपुरमा देखिएका संक्रमितमध्ये धेरै होम आइसोलेसनमा रहेको पाइएको छ । तथ्याङक अनुसार ५२४ सक्रिय संक्रमितमध्ये गौरीटारमा १३ र हेटौंडा अस्पतालमा ११ जनामात्र उपचारमा छन् भने आइतबार थपिएका १७१ मध्येमा अधिकांश संक्रमित होम आइसोलेसनमै छन् । दोस्रो पटकको कोरोना संक्रमण दर उच्च रहँदा मकवानपुरमा स्वास्थ्य क्षेत्रको व्यवस्थापन कमजोर देखिएको छ ।



बागमती प्रदेशको राजधानी हेटौंडामा बिरामीको संख्या उच्च रहँदा हेटौंडा अस्पताल र गौरीटारमा रहेको आइसोलेसनले भार थेग्न सक्ने अवस्था छैन । आपत्कालीन अवस्थामा हेटौंडा अस्पतालमा निर्माण गरिएको २० बेड क्षमताको हाइ डिपेन्डेन्सी युनिट (एचडियु) वार्ड र गौरीटारमा रहेको पहिलो संक्रमणका बेला तयार पारिएको १२० बेड क्षमताको आइसोलेसन वार्डमात्र रहेको छ ।

अहिले मकवानपुरमा आइतबार साँझसम्म करिब सात सक्रिय संक्रमित पुगेका छन् । संक्रमित रहेका मध्ये हेटौंडामा उपचारको क्रममा २ र भरतपुरमा १ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।



  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १८:१०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया