कोरोना संक्रमणको दोस्रो भेरियन्टको गति तीव्र रुपमा फैलिँदै गएपछि स्थानीय प्रशासनले मंगलबारदेखि धनुषा जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले प्रदेश २ मा धनुषा जिल्लामा संक्रमणको गति दोस्रो स्थानमा पुगेको र समुदाय स्तरमा कोरोना फैलिएकोले वैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि वैशाख ३१ गते शुक्रबार राति १२ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा लगाइएको जानकारी दिएका छन् ।
प्रजिअ बास्तोलाले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभर प्रतिकूल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा र स्थल १० दिनसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार धनुषा जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
प्रशासनले औषधि उपचार एवं आदेशमा उल्लेख भएबमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । राति ९ बजेदेखि बिहान ५ बजेसम्म सडकमा हिँडडुल गर्न समेत रोक लगाइएको छ ।
निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जनस्थल, सैलुन, ब्युटिपार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयलगायत सञ्चालन गर्नसमेत रोक लगाइएको छ ।
विवाह, व्रतवन्धजस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म सहभागी भई स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी गर्न सकिने र सो प्रयोजनका लागि बढीमा २ वटा साना गाडी र एउटा ठूलो गाडीमा शुभविवाहको ब्यानर राखी सञ्चालन गर्न सकिने स्थानीय प्रशासनले जनाएको छ ।
मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीले प्रयोग गर्ने सवारीसाधन, दूरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपक्षीको दानालगायत दुवानीका सवारीसाधन, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारीसाधन, सरकारी तथा सार्वजनिक संस्थानका सवारीसाधनबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारीसाधन (पूर्व–पश्चिम राजमार्गमा वारपार गर्ने बाहेक) समेत सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।
खाद्य वस्तु, खाना पकाउने ग्यास र निर्माण सामग्रीसँग सम्बन्धित व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म र औषधि तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसल चौबिसै घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने उल्लेख छ ।
प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।