लुम्बिनीमा प्रहरी-सांसद घम्साघम्सी : कांग्रेस सांसदको आरोप, 'डिआइजीले मलाई टिपेर फालिदिए
विपक्षीको अवरोध छल्दै मुख्यमन्त्रीले सपथ लिए

बुटवल  : लुम्बिनीका प्रदेश प्रमुखको कार्यालय परिसरमा प्रहरी र विपक्षी दलका प्रदेशसभा सदस्यहरूबीच घम्साघम्सी भएको छ। बहुमत नै नपुगेका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई शपथ खुवाउन लागेको भन्दै घेर्न गएका विपक्षी सांसद र प्रहरीबीच झडप भएको हो।

आफ्नो कार्यालयबाट पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाउन निस्किने क्रममा प्रदेश प्रमुख धर्मनाथ यादवको समेत विरोधमा कांग्रेस, माओवादीसहितका सांसदहरुले चर्का नारा लगाएका थिए। प्रदेश प्रमुख यादवलाई रोक्न भेला भएका सांसदहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ।

प्रदेश प्रमुखलाई नेपाली सेनाको टोलीले घेरा हालेर लिएर जाने क्रममा आक्रोशित सांसदहरु त्यहाँ तैनाथ प्रहरीसँग झडपमा उत्रिएका थिए। यही क्रममा केही सांसदहरुले आफूलाई चोट लागेको पनि बताएका छन्। 

लुम्बिनीमा कांग्रेस सचेतक निर्मला क्षेत्रीले झडपस्थलमै बोल्दै आफूलाई एकजना डिआइजी आएर टिपेर फालिदिएको गुनासो गरिन्। ' ‘प्रदेश प्रमुख मुख्यमन्त्रीको कार्यालय जान लाग्दा महिला प्रहरी ल्याउनु भन्दा भन्दै डिआइजी आएर मसहितलाई आक्रमण गर्न थाल्नुभयो', उनले भनिन्, 'त्यसलगत्तै प्रहरी टोली आएर मलाईसहित टिपेर फ्याँक्न थाल्नुभयो। अमर्यादित किसिमले ममाथि आक्रमण भयो। प्रदेश प्रमुख, मुख्य मन्त्री र प्रहरी प्रशासनको मिलेमतोमा यहाँ नाङ्गो नाच भइरहेको छ।'

उनले आफूहरुमाथि अन्याय भएको पनि दाबी गरिन्। 'हामी यो घटनालाई लिएर न्याय खोज्न तयार छौं', उनले भनिन्, 'हामी जहाँ गएर पनि न्याय खोज्छौँ, अन्याय सहँदैनौँ।'

एमाले संसदीय दलका नेता पोखरेललाई शपथ नखुवाउन भन्दै कांग्रेस र माओवादीका सांसदहरु आइतवार दिउँसोदेखि नै प्रदेश प्रमुख यादवको कार्यालय परिसरमा आएर धर्नामा बसेका थिए। 



आजै नियुक्त मुख्यमन्त्री पोखरेललाई शपथ खुवाउन उनको कार्यालयमा निस्किने क्रममा यादवलाई प्रदेश सभा सदस्यहरुले घेरा हालेका थिए। त्यसपछि प्रहरीले बल प्रयोग गरेको हो। 

यादव विपक्षीको घेराबाट निस्कि मुख्यमन्त्री पोखरेललाई पद तथा गोपनीयताको शपथ खुवाइसकेका छन्। पोखरेलले चारजना मन्त्री पनि नियुक्त गरिसकेका छन्। यादव निस्किने क्रममा उनी, मुख्यमन्त्री र प्रहरीविरुद्ध विपक्षी सांसदहरूले अनेक नारा लगाएका थिए।



आइतवार आज बिहान मात्रै मुख्यमन्त्री पदबाट राजीनामा दिएका पोखरेल एकल बहुमतसहित पुनर्नियुक्ति भइसकेका छन्। उनलाई प्रदेश प्रमुख यादवले संविधानको धारा १६८ (१) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

भिडियो

  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार २१:५४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया