मेस्सीको २ गोलमा बार्सिलोना विजयी

कप्तान लियोनेल मेस्सीले २ गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ ।

ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता उल्टाएर बार्सिलोनाले जित निकालेको हो ।

भ्यालेन्सियालाई उसकै घरमा पराजित गर्ने क्रममा बार्सिलोनाका लागि मेस्सीले २ तथा एन्टोइन ग्रिजम्यानले १ गोल गरे । भ्यालेन्सियाका गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक एक गोल फर्काए ।

खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५०औँ मिनेटमा गाब्रियलको गोलबाट भ्यालेन्सियाले अग्रता बनायो । त्यसलगत्तै ५७औँ मिनेटमा मेस्सीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । 

त्यसअघि पाएको पेनाल्टीमा मेस्सी गोल गर्नबाट चुकेका थिए । तर, सोही पेनाल्टी बल भ्यालेन्सियाका डिफेन्डरले क्लियर गर्न नसक्दा मेस्सीले गोल गरे । 

खेलको ६३औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । खेलको ६९औँ मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रता दिलाए ।



खेलको ८३औँ मिनेटमा घरेलु टोलीका कार्लोसले एक गोल फर्काए पनि बार्सिलोना ३–२ ले विजयी भयो । जितसँगै बार्सिलोनाले ३४ खेलबाट ७४ अंक जोडेको छ । बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।

७६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा एट्लेटिको मड्रिड रहेको छ । बार्सासँग समान अंक भएको रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । भ्यालेन्सिया ३६ अंक जोडेर ला लिगा टेबलको १४औँ स्थानमा रहेको छ ।



  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार ७:३९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया