भारतीय सहयोगमा जुम्लाको लघु जलविद्युत् आयोजना पुन:निर्माण
२० हजार उपभोक्ता लाभान्वित हुने

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा भारतीय सहयोगमा साना जलविद्युत आयोजना पुन:निर्माण गरिएको छ।

भारत सरकारको २ करोड ६३ लाख रुपैयाँ आर्थिक सहयोगमा चन्दननाथ नगरपालिकामा हालै पुन:निर्माण गरिएको साना जलविद्युत आयोजनाको बुधबार उद्घाटन गरिएको छ। भारतीय राजदूतावासका प्रथम सचिव (विकास साझेदारी तथा पुनर्निर्माण प्रभाग) करूण वंशल, जिल्ला समन्वय समिति संयोजक र नेपाल विद्युत प्राधिकरणका अधिकारीले उक्त आयोजनाको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन्। 

२०० किलोवाट क्षमताको जलविद्युत आयोजनाको निर्माण नेपाल विद्युत प्राधिकरणले सन् १९८३ मा गरेको थियो। प्राकृतिक विपदका कारण उक्त आयोजनामा क्षति पुगेको थियो। 

उपभोक्ता समिति, स्थानीय बासिन्दा र जिल्ला समन्वय समिति, जुम्लाको अनुरोधमा उक्त आयोजना पुन:निर्माणका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो। 

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको अनुदानमा जलाशय ट्याङ्की निर्माण र जलविद्युत आयोजना पुन:निर्माण गरिएको हो । यो आयोजनाले चन्दननाथ नगरपालिकाका करिब २० हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

भारतले नेपालमा ४५० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु बनाइसकेको छ। जसमध्ये जुम्लाका २ वटा परियोजनासहित १० वटा परियोजना कर्णाली प्रदेशमा छन् । 



भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित कर्णालीका ४ वटा परियोजना निर्माण र कार्यान्वयनका चरणमा छन् । यी बाहेक भारतीय राजदूतावासले जुम्लाका विभिन्‍न स्वास्थ्य चौकी र गैरसरकारी संस्थालाई ५ वटा एम्बुलेन्स दिइसकेको छ।



  • प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार २०:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया