यी जनप्रतिनिधि : जसले आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाए
नगरपालिकामै तयार भए अक्सिजनसहितका आइसोलेसन

एम्बुलेन्स अभावमा अस्पताल नै पुग्न नपाई कोरोना संक्रमितको ज्यान जान थालेपछि देशको दुई स्थानका जनप्रतिनिधिले आफू चढ्ने सरकारी गाडी तत्काललाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएका 

भएका एम्बुलेन्सले पनि कोरोना संक्रमित बोक्न अस्वीकार गरिरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधिले आफू चढ्ने गाडी बिरामी बोक्ने काममा दिएका हुन्। 

नगरपालिकामा ५० बेडको आइसोलेसन 

सुनसरीको बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले बढ्दो कोरोना संक्रमणलाई देखेर तत्कालै स्थानीय सप्तकोशी बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेसन तयार पारेका छन्। 

कोरोना भाइरस संक्रमणबाट स्थानीयवासीलाई कुनै किसिमको समस्या पर्न नदिन नगरभित्रै ५० बडको आइसोलेसन तयार गरिएको खनालले बताए।  

मेयर खनालका अनुसार आइसोलेसनमा नगरपालिकाले कोरोना संक्रमित र बिरामीलाई निःशुल्क खाना दिने छ। खनालले आइसोलेसन निर्माणसँगै आफूले प्रयोग गर्दै आएको सरकारी गाडी पनि एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने निर्णय लिएका छन्। 



‘कोरोना महामारीका बेला जनता छटपटाइरहँदा जनप्रतिनिधिले गाडी चढेर हिँड्न मिल्दैन', उनले भने, 'मैले चढिरहेको सरकारी गाडी आजैदेखि कोरोना संक्रमित बोक्न र उनीहरुको सहयोगका लागि प्रयोग हुनेछ।'

तिलोत्तमाका प्रमुख-उपप्रमुखको गाडी एम्बुलेन्स



यस्तै उता रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुख दुवैजनाले आफू चढ्ने सरकारी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिएका छन्। 

घिमिरेले लु १ झ ३६० नम्बरको र उपप्रमुख जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कर्पियो गाडी एम्बुलेन्सका रुपामा अब सर्वसाधारण प्रयोग गर्न पाउनेछन्। 

नगरपालिकामा कोरोना संक्रमित बढिरहेका बेला उपचारमा अस्पताल लैजान, घर ल्याउन एम्बुलेन्सको अभाव भएपछि उनीहरुले यस्तो निर्णय लिएका हुन्। नगर प्रमुख बासुदेव घिमिरेका अनुसार नगरवासीलाई उपचारबाट बञ्चित हुन नदिन यस्तो कदम चालिएको हो। 

तिलोत्तमामा कोरोना समुदायमा पुगिसकेको छ। त्यहाँ रुपन्देहीको बुटवलपछि धेरै संक्रमित छन्। तिलोत्तमामा १ हजार ६ सय सक्रिय संक्रमित रहेका घिमिरेले बताएका छन्। 

‘एम्बुलेन्स अभावमा नागरिकहरु घरमै छटपटाइरहेका छन्। नागरिकको करले किनेको गाडी यो संकटमा हामीले चढेर हिँडिरहन मनले मानेन, नैतिकताले पनि दिएन', उनले भने, 'नगरवासीले अस्पताल जान नसकेका बेला हामी गाडी चढेर हिँड्न मिलेन। त्यही कारण हाम्रो गाडीलाई अब एम्बुलेन्स बनाउने निर्णय लिएका हौँ।'

उनीहरुले गाडीमा एम्बुलेन्सको जस्तै सुत्न मिल्ने सिट र अक्सिजन सिलिण्डर पनि जोडिएको बताएका छन्। नगरपालिकाले त्यहाँ एउटा आइसोलेसन पनि बनाइसकेको छ।  
वडा नं. १ स्थित शंकरनगर बनबाटिकाको स्वास्थ्य चौकीलाई अर्को भवनमा सारेर त्यहाँ अक्सिजनसहितको आइसोलेसन बनाइएको हो। स्वास्थ्य चौकी अन्यत्र सारेर बनाइएको ४० शय्याको आइसोलेसनमा संक्रमित नअटेपछि बढाएर ६० शय्या पुर्‍याउन लागिएको घिमिरेले बताए।

 

  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार १६:३९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया