प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नागरिकलाई कोरोनाविरूद्धको खोप ल्याउने भनेर गरेको घोषणा पनि ६ महिना बितिसकेको छ। अहिलेसम्म २१ लाख नागरिकले पहिलो डोज खोप लगाएका छन्। दोस्रो डोज खोप लगाउने तीन लाख मात्रै छन्।
यसैबीच खोप खरिदमा करोडौँ कमिसनको चक्कर चलिरहेको खबर बाहिर आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालनै ५० लाख डोज खोप ल्याउन असम्भव रहेको बताएको छ।
कमिसन विवादका कारण ५० लाख डोज कोभिसिल्ड खोप भारतको पुणेस्थित सिरम इन्स्टिच्युटबाट ल्याउने योजना तत्काललाई तुहिएको कुरा मन्त्रालयले स्वीकारेको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तत्कालै ५० लाख डोज खोप ल्याउन असम्भव रहेको बताएका हुन्।
'खोप खरिदमा कमिसन विवाद रहेको कुरामा सत्यता छैन', उनले भनेका छन्, 'सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको छ।'
गौतमले सिरमले दिनुपर्ने २० लाखमध्ये १० लाख डोज खोप आइसकेको बताउँदै बाँकी खोप आपूर्ति वर्तमान विश्व परिस्थितिमा निर्भर हुने बताएका छन्। यसको अर्थ भारतसहितका ठूला देशमा कोरोना संकट चुलिइरहेकाले यो खोप पनि तत्कालै ल्याउन कठिन हुने उनको संकेत थियो।
मन्त्रालयले कमिसन विवाद टार्ने गरी सिरम इन्स्टिच्युटमा आगलागी भएकाले थप परिमाणको खोप कम्पनीले दिन नसकेको बताएको छ। 'सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा राखेको छ। तर कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा समस्या हुँदा रोकिएको हो', गौतमले भनेका छन्, 'कम्पनीको क्षमता विस्तार हुनेबित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको छ।'
तर गौतमले यो २० लाखबाहेक थप ५० लाख डोज खोप किन्न सक्ने अवस्था तत्काल नरहेको पनि बताएका छन्। खोप आयातका लागि चीनसहितका अन्य मुलुकसँग कूटनीतिक र अन्य माध्यमबाट कोसिस भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोभिसिल्ड खोप खरिद निर्णयको अधिकार स्वास्थ्य सेवा विभागको भएको पनि दाबी गरेको छ। विभाग नै स्वतन्त्र भएकाले मन्त्रालयलाई नजोड्न पनि गौतमले भनेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।