प्रादेशिक अस्पताल जनकपुरमा ८ वटा भेन्टिलेटर जडान हुँदै

सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ८ वटा नयाँ भेन्टिलेटर जडान गराइरहेको छ । 

जडान गर्न लागिएका नयाँ भेन्टिलेटरहरु शनिबारदेखि सञ्चालनमा आउने बताइएको छ । प्रादेशिक अस्पतालमा रहेका पुरानो भेन्टिलेटरहरु बिग्रिएपछि सामाजिक विकास मन्त्रालयले अस्पताललाई ८ वटा नयाँ भेन्टिलेटर उपलब्ध गराएको हो । 

भेन्टिलेटर जडानको काम शुक्रबार अबेर रातिसम्म सम्पन्न हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए । 

डा. यादवले भने,‘अस्पतालमा भेन्टिलेटर नभएर ठूलै समस्या भएको छ, प्राविधिकहरू प्रदेश सरकारले उपलब्ध गराएको भेन्टिलेटरहरु जडान गर्ने काम भइरहेको छ । अबेर रातिसम्म सबै भेन्टिलेटर जडान गर्ने काम पूरा भएपछि शनिबार बिहानैदेखि सञ्चालनमा ल्याइने छ ।’

यसअघि प्रादेशिक अस्पताल जनकपुरधाममा ९ वटा भेन्टिलेटर थियो । जसमध्ये ५ वटा अस्पतालमा भर्ना भएका बिरामीहरुको उपचारमा प्रयोग हुन्थ्यो भने बाँकी ४ वटा ट्रान्सपोर्ट भेन्टिलेटरहरु थिए । 

उनले भने, ‘५ वटा भेन्टिलेटरमध्ये ३ वटा भेन्टिलेटर पहिलेदेखि नै बिग्रेका थिए, एउटा यस वर्ष कोभिड अस्पताल सञ्चालनमा आएपछि बिग्रियो भने बाँकी एउटा भेन्टिलेटर पनि बिहीबार बिरामीलाई भेन्टिलेटरमा राखेको केही घण्टा नबित्दै बिग्रेको थियो ।’



बिग्रेका भेन्टिलेटरहरुलाई मर्म्मत गर्ने प्रक्रिया अगाडि बढाइए पनि त्यसका पार्ट्सहरु नेपाली बजारमा उपलब्ध नरहेकाले समस्या भइरहेको मेसु यादवले बताए ।

उनले भने,‘भेन्टिलेटरको पाइपहरूमा प्वाल परेको र ती पाटर्सहरु बजारमा उपलब्ध छैनन्, भारतबाट मगाउन पनि अहिले समस्या भइरहेको छ ।’



प्रादेशिक अस्पतालमा अहिले ३१ जना बिरामीलाई अक्सिजन सहित राखिएको छ । जसमध्ये १९ जनालाई आइसियुमा र ५ जना बिरामी बेडको पर्खाइमा छन् ।

प्रदेश सरकारले प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरे पनि सेवा सुविधा र उपकरणको मामलामा कमजोर रहेको भन्दै प्रदेश सरकारको व्यापक आलोचना हुँदै आइरहेको थियो ।

  • प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार १८:८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया