खेलाडीको निषेधाज्ञा डायरी : को कता के गर्दैछन् ?

कोरोना भाइरसको दोस्रो लहरले पुनः एक पटक सबैलाई घरभित्रै बस्न बाध्य बनाएको छ । यसैबीच खेलकुद कार्यक्रम पनि ठप्प भएका छन् । नेपालको पहिलो फेन्चाइज फुटबल प्रतियोगिता (नेपाल सुपर लिग) मा दर्शक उपस्थित हुन पाएका छैनन् ।

सरकारले घोषणा गरेको निषेधाज्ञा पालना गर्दै धेरै खेलाडी यतिबेला घरभित्रै छन् । सधैंको भागम्भाग र दौडादौड सक्रिय रहने खेलाडीलाई घरभित्रै बस्दा केही असहज भने भएकै छ तर पनि कोरोना भाइरसको महामारी पुनः नफैलियोस् भन्ने हेतुका साथ गरिएको निषेधाज्ञा पालना गर्न उनीहरू मानसिक रूपमा तयार देखिन्छन् ।

यो निषेधाज्ञामा केही खेलाडीका दिनचर्या

नवीन रसाइली/कराँते खेलाडी

कराँते खेलाडी नवीन रसाइली बिहान ट्रेनिङमा जान्छन् । ट्रेनिङ सकेर घर फर्किएपछि खाना खाएर एकछिन आराम गर्छन् । उनी भन्छन्, ‘पहिलेको लकडाउनभन्दा यसपटक अलि फरक छ । पहिला ट्रेनिङ थिएन ।’ उनको अहिले सातदोबाटोमा ओलम्पिकका लागि ट्रेनिङ चलिरहेको छ । पहिलाको लकडाउनमा उनले टिकटक चलाउन सिके अहिलेको निषेधाज्ञामा पनि टिकटक साथी बनेको उनले बताए ।



‘टिकटकले राम्रो टाइमपास हुन्छ ।’ टिकटक बनाउने भन्दा हेर्ने बढी गर्छन्, उनी । अहिले दोस्रो लहरको कोरोना संक्रमण छिट्टै फैलने भएकाले घर–परिवार बीचमा नै लुँडो खेल्ने, कार्ड गेमहरू खेल्ने गरेर समय बिताइ रहेका छन् ।

पारस खड्का/क्रिकेटर



यो निषेधाज्ञामा क्रिकेट खेलाडी तथा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का आफ्नो घरमै बसेका छन् । कोरोनाको दोस्रो लहरले नेपालका अस्पतालमा बेड नभएको समाचार सुन्दा थप सचेत हुनुपर्ने कुरालाई जोड दिँदै घरमै बसेको उनी बताउँछन् ।

‘यो महामारीका बेला कतै निस्किनु भन्दा सबैजनाले घरमै बसेर महामारी नियन्त्रणमा ध्यान दिऔंं ।’ खेल तथा ट्रेनिङ बन्द भएकाले उनी घरमा नै सामान्य तरिकाले बसिरहेका छन् । खेलाडी भएकाले हल्का शारीरिक व्यायाम गर्छु । अरु खासै काम केही छैन । आफ्ना नित्य कर्मभन्दा बढी, उनी भन्छन् । 

धनबहादुर भट्ट/भलिबल खेलाडी

भलिबल टिमका स्पाइकर धनबहादुर भट्ट अहिले नेपाली सेनाको ब्यारेक भित्रै छन् । सम्पूर्ण खेलहरू रोकिएपछि नेपाली सेनाले विभागीय खेलाडीलाई आफ्नो पल्टनमा फर्काएको छ । घर टाढा हुने खेलाडी घर गए । उनी भने लगनखेल ब्यारेकभित्र छन् । उनी बिहान ५ बजे उठ्छन् । नेपाली सेनाको नित्य रुटिनअनुसार ६ बजे परेड गर्छन् । दिउँसो खाना खानापछि ३ बजेबाट विभागीय साथीहरूसँगै भलिबल, फुटबल तथा ब्याडमिन्टन खेलेर समय बिताइरहेका छन् ।

‘बेलाबेलामा कोभिड परीक्षण भइरहन्छ । संंक्रमण देखिएमा सेनाको अस्पताल छाउनीमा उपचारका लागि पठाउँछ ।’ अहिलेको समयमा ब्यारेक नै सुरक्षित रहेको उनी बताउँछन् । निषेधाज्ञामा भित्र थुनिन खेलाडीका लागि निकै गाह्रो हुने उनी बताउँछन् । ‘खेल भएका बेला हामी बाहिर खेल्न जान पाउँछौँ । अलिकति बढी इन्कम पनि हुन्छ ।’

फिजिकल ट्रेनिङ छोड्दा पछि खेलमा फर्किन गाह्रो हुन्छ कि भन्ने डर छ उनलाई । पहिलेको लकडाउन जस्तै अहिले यो निषेधाज्ञा पनि लम्बिएमा निकै गाह्रो हुने उनी बताउँछन् । 

एन्जिला तुम्बापो/फुटबलर

नेपाली महिला फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो काठमाडौंमा छिन् । घरमा बसेर निषेधाज्ञाको पूर्ण पालना गरिरहेकी छन् । बिहान ६ बजेदेखि १० बजेसम्म अनलाइन कक्षा पढ्छिन् । सिद्धार्थ कलेजमा बिबिएस चौथो वर्ष अध्ययन गरिरहेकी छन् ।

दिउँसोको समय फिल्म हेर्ने, सामाजिक सञ्जाल फेसबुक, इन्टाग्राम चलाउने तथा कोर्ससँगै सम्बन्धित किताब पढेर बिताउँछिन् । बेलुका घरभित्रै हल्का वार्म अप गरेर दिन बिताइरहेकी छन् । उनी भन्छिन्, ‘यो महामारीको समयमा घरभित्र बस्न निकै गाह्रो हुन्छ । गाह्रो भए पनि यस परिस्थितिबाट बच्नु नै ठूलो कुरा हो अहिलेका लागि ।’ उनी अहिले सामान्य विद्यार्थी जसरी दिन बिताइ रहेकी छन् । 

सन्तोषी श्रेष्ठ/एथलेटिक्स खेलाडी

एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ घरमै छिन् । घरमा बसेर निषेधाज्ञाको पालना गरिरहेकी छन् । ट्रेनिङ रोकिएपछि घर छेउछाउमा नै दगुर्ने गरेकी छन्, उनी । पहिलेको लकडाउनमा जस्तै यसपालिको निषेधाज्ञामा उनी घरमा नै बसेर फिटनेस र पढाइलाई निरन्तरता दिइरहेकी छन् ।

उनी एकान्तमा बस्न मन पराउने भएकाले निषेधाज्ञा उनका लागि दिक्क लाग्दो भने भएको छैन । उनी भन्छिन्, ‘पहिलाको लकडाउन जस्तै हो । अहिले पनि रुटिन ।’ सबैजनाले स्वास्थ्यलाई ध्यान दिई महामारीबाट बच्न अहिले सबैको प्राथमिकता हुनु पर्ने उनले बताइन् । 

प्रिन्स दाहाल/ब्याडमिन्टन खेलाडी

ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल अहिले खलङ्गा गएका छन् । एक साताबाट उनी त्यतै छन् । उनी भन्छन्, ‘कोभिडको डर यता खासै छैन । ट्रनिङ सबै रोकियो । प्रतियोगिता पनि छैन त्यही भएर सपरिवार यता आएका हौं ।’ बिहान उठेर हल्का वार्म अप तथा रनिङ गर्छन् । दिउँसो भने टेलिभिजन हेर्ने, फेसबुक, इन्टाग्राम चलाउने र वन जंगलतिर डुलेर समय बिताइरहेका छन् । समय मिलेमा ब्याडमिन्टन पनि खेलिरहेका छन् । 

खेलकुद कार्यक्रम रोकिएपछि खेलाडी घरमा तथा सामाजिक सञ्जालमा बढी सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जाल, किताब तथा फिल्म हेरेर हाल खेलाडीहरूले घर भित्रैबाट मनोरञ्जन गरिरहेका छन् । अनेक कुरामा मन भुले पनि उनीहरू सबैले खेलकुद निकै सम्झिरहेका छन् ।

  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १०:३३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया