स्पेनिस क्लब रियल मड्रिडले बेल्जियन फरवार्ड इडेन हजार्डलाई सन् २०१८ मा इङ्लिस क्लब चेल्सीबाट अनुबन्ध गर्दा धेरै आशा गरेको थियो ।
स्टायामफोर्ड ब्रिजमा गरेको लोभ लाग्दो प्रदर्शनबाट लालयित बनेको स्पेनिस जायन्टले आफ्ना सुपर स्टार क्रिस्टियानो रोनाल्डोको कमी पूरा गर्ने आशामा हजार्डलाई क्लबमा ल्याएको थियो ।
विश्वकै उत्कृष्ट खेलाडीको पहिलो रोजाइमा पर्ने रियल मड्रिडमा हजार्डले २ वर्ष बिताइसकेका छन् तर क्लबले उनको क्षमता अनुसारको प्रदर्शन अझै देख्न पाएको छैन ।
चोटका कारण लामो समय मैदान बाहिर रहेका हजार्डले पाएका मौकामा पनि आफूलाई प्रमाणित गर्न सकेका छैनन् ।
विश्व फुटबलको सफल क्लबमध्ये एक रियलले हजार्डको आगमनपछि अझै उत्कृष्ट गर्ने आशा गरेको थियो तर यी दुई वर्षमा उनको योगदान शून्य जस्तै छ ।
निकै भरोसा गरेका खेलाडीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि क्लबले यतिबेला हजार्ड रियलका लागि उपयुक्त नभएको आभाष गर्न थालेको छ ।
प्रशिक्षक जिनेदिन जिदानले निकै आशा गरेर च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा बुधबार पूर्व क्लब चेल्सीविरुद्ध हजार्डलाई मैदानमा उतारे ।
उनी यो खेलमा पनि फिक्का देखिए । रियल २-० पराजित हुँदै लिगबाट बिहिरियो ।
हजार्डले खेलपछि आफ्ना पूर्व सहकर्मीसँग ठट्टा गर्दै हाँसेको भिडियो भाइरल बन्यो । त्यसपछि उनले धेरै आलोचना खेपे र माफी नै माग्नु पर्यो ।
रियल पुगेपछि उनले खेल्नुपर्ने ९९ खेलमध्ये ४० खेल मात्र खेलेका छन् त्यसमा पनि ४ खेलमा मात्र पूरै ९० मिनेट मैदानमा बिताएका छन् ।
उनले यी ४० खेलमा २ हजार ३८८ मिनेट मैदानमा बिताउँदा ४ गोल गरे । यो उनी उपलब्ध हुने सक्ने समयको २६.६ प्रतिशत मात्र हो ।
कहिले चोट त कहिले अस्वस्थताका कारण उनी ३९६ दिन मैदान बाहिर रहे ।
हजार्डले रियका लागि खेलेका ९ खेलमा घाइते भए । जसमा ४ कन्ट्रयाक्ट इन्जुरी र ५ मांसपेशीको चोट थियो ।
सन् २०१९ को नेभेम्बरमा लागेको एन्कल चोटको २०२० को मार्चमा शल्यक्रिया भयो । चोटबाट निको भएर मैदान फर्कने तयारीमा रहेका हजार्डलाई कोरोना संक्रमण भयो ।
लामो समय मैदानबाहिर रहँदा उनको फिटनेसमा पनि केही समस्या आएको थियो । टिमलाई लगातार निरास पारेपछि रोनाल्डोको स्थानमा उनलाई ल्याउने क्लबको निर्णय गलत भएको टिकाटिप्पणी हुन थाल्यो ।
हजार्ड विश्वकै एक उत्कृष्ट खेलाडी हुन् यसमा कुनै दुईमत छैन, त्यसैले त रियलले उनलाई भित्र्याउन १२० मिलियन युरो खर्चिएको थियो ।
रोनाल्डोको स्थान लिने आशा गरिएका खेलाडीले त्यही अनुसारको प्रदर्शन पनि गर्नुपर्छ तर हजार्डले रियलमा आफूलाई प्रमाणित गर्न सकिरहेका छैनन् ।
अहिले गलत क्लबमा आएको र रियलका लागि नबनेको भन्दै उनको आलोचना हुन थालेको छ ।
(यो सामग्री स्पेनिस खेल पत्रिका मार्काबाट फरकधारका लागि योगेश भट्टराईले अनुवाद गरेका हुन्)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।