त्रिवि शिक्षण अस्पताललाई काठमाडौं महानगरको भेन्टिलेटर सहयोग
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो । 

महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्षले शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाइँमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए । 

कोभिड महामारी तीव्र रुपमा विस्तार हुँदै गएर बिरामीको उपचारमा नै समस्या देखिन थाले पनि महानगरले विकास निर्माणभन्दा अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको उनले स्पष्ट पारे । अहिले महानगर मानव जीवन बचाउने दायित्वको पूरा गर्ने काममा लागेको उल्लेख गर्दै उनले कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झिन पनि अनुरोध गरे । 

सबै विकास निर्माणको काम थाँती राखेर भए पनि महानगर जीवन रक्षाका लागि लागिरहने उनले प्रतिबद्धता जनाए । अन्य अस्पतालमा पनि समस्या भए वा स्वास्थ्य सेवामा प्रभाव परेको जानकारी पाए त्यस्ता अस्पतालसँग पनि महानगर सहकार्य गर्न तयार रहेको उनले बताए । 

‘अहिले हाम्रो प्राथमिकता भनेको विकास निर्माणभन्दा पनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग, सहकार्य गर्ने रहेको छ,’ उनले भने, ‘आज हामीले १० वटा भेन्टिलेटर प्रदान गरेका छौँ । अन्य अस्पताललाई पनि भनिरहेका छौँ, महानगरले केही सहयोग गरेर ज्यान बचाउन सकिन्छ भने त्यता लागौँ भनेका छौँ ।’ 

महानगरले सरकारी र सामुदायिक अस्पताललाई सहयोग गरिरहेको र उनीहरुको सम्पर्कमा रहेको जानकारी दिँदै उनले भने, ‘यो बाहेक कुनै पनि सहयोग तत्काल चाहियो भने काठमाडौ महानगरपालिका पनि एउटा सहयोगी संस्थाको रुपमा बुझिदिन म अनुरोध गर्दछु ।’



उनले आफ्नो स्वास्थ्य र परिवार नभनीकन सिंगो देशलाई परिवार ठानेर बिरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रशंसा गरे । उनले महामारीमा विभिन्न भूमिकामा खटिने सबैलाई महानगरपालिकाको तर्फबाट धन्यवाद दिए । 



  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार १७:१०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया