नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सभापति शेरबहादुर देउवामाथि प्रतिपक्षीय भूमिका निर्वाहमा चुकेको आरोप लगाएका छन्। कांग्रेस दलको बानेश्वरमा बसेको बैठकपछि उनले देउवामाथि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अपारदर्शी साँठगाँठ गरेको आरोप पनि लगाएका छन्।
उनले जनताले ५ वर्ष सत्ता बाहिर बस्न दिएको जनादेश विपरीत कांग्रेस नेतृत्वले प्रतिपक्षी भूमिका भुलेर बसेको पनि गुनासो गरे। '५ वर्ष सत्ता बाहिर बस्ने जनादेश विपरीत कांग्रेस प्रतिपक्षीय भूमिका निर्वाह गर्न पटक पटक चुकिरह्यो', उनले भने, 'कांग्रेसले जनतातर्फ उभिएर सरकारमाथि प्रश्न गर्नुपर्थ्यो। सरकारसँग अपरादर्शी साँठगाँठ गर्ने होइन।'
उनले सभापति देउवाप्रति इंगित गर्दै जनताले आफूतिर उभिएर सरकारमाथि प्रश्न गर्नेमा ओलीसँग अपारदर्शी साँठगाँठमा रमाएको आरोप लगाए। 'जनताले आफूतिर उभिएर सरकारमाथि प्रश्न गर्छ भनेको कांग्रेस सरकारसँग अपरादर्शी उठबसमा रमायो', उनले भने, 'तर कांग्रेस कयौँ पटक प्रतिपक्षीय धर्म निर्वाह गर्ने कुरामा चुक्यो, हामी चुकिरह्यौँ।'
उनले कांग्रेस नेतृत्वले कहिलेकाहीँ ओली नेतृत्वको सरकारलाई आफ्नै ठानेर भाग खोजेको भन्दै देउवामाथि कटाक्ष गरे। 'कहिलेकाहीँ हामीले ओली नेतृत्वको सरकारलाई आफ्नै भन्यौँ', उनले भने, 'प्रतिपक्षी भूमिका छाडेर हामीले भाग खोज्यौँ । हामीले हाम्रो जिम्मेवारी अनुसार प्रश्न गर्न सक्छौँ तर सरकारबाट साझेदारी पाउँदैनौँ। हामीले भाग खोज्ने होइन । प्रतिपक्षीले जनताको पक्षमा उभिएर सरकारमाथि खबरदारी गरिरहने हो।'
उनले प्रधानमन्त्रीले संविधान र संवैधानिक संस्थाप्रति आस्था नराखेपछि कांग्रेस चुप लागेर बस्न नहुने बताए। 'प्रधानमन्त्रीले संविधान र संवैधानिक संस्थाप्रति आस्था नराखेपछि कांग्रेस चुप लागेर बस्नै हुँदैन', उनले भने, 'प्रधानमन्त्रीलाई अझै टिकाइराख्ने हो भने यो व्यवस्था पनि ध्वस्त हुन्छ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।