'केपी ओलीलाई अपदस्थ गर्ने उपयुक्त मौका आएको छ'
फागुन २८ बाट २०७५ जेठ २ मा नफर्किए सहमति हुँदैन

सत्तारुढ दल नेकपा एमालेमा देखिएको विभाजन उन्मुख विवाद मिलाउन यतिबेला दोस्रो तहका नेताहरू सक्रिय छन्। एमालेलाई बचाउन राष्ट्रपति विद्यादेवी भण्डारी पनि जुटेकी छन्। विवाद समाधानका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुई पटक एक्ला एक्लै वार्तामा बसे। वैशाख ७ र ९ मा भएका दुवै भेटवार्तामा खासै प्रगति भएन। 

फुटको डिलमा पुगिसकेको पार्टी जोगाउन भन्दै दुवै समूहका दोस्रो तहका नेताहरू केही दिनयता निरन्तर संवादमा  छन्। प्रधानमन्त्रीले विश्वासको मत लिने दिन वैशाख २७ गते नजिकिँदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पनि दुवै पक्षका नेताहरू जुटेका थिए। ओली समूहबाट विष्णु पौडेल, नेम्वाङ र विष्णु रिमाल छलफलमा थिए भने नेपालका तर्फबाट घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई वार्तामा सहभागी थिए। दुई पक्षको संवादलाई निरन्तरता दिने नेताहरूले बताउँदै आएका छन्। ओलीले माधव नेपालसहित उनी पक्षका नेताहरूलाई निरन्तर कारबाहीको डण्डा चलाइरहेका छन्।

यो अवस्थामा २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्दा नेपाल-खनाल समूहका सांसदहरूको भूमिका के होला? अहिले नेपालको राजनीतिक वृत्तमा यो मूल प्रश्न बनेको छ। ओलीसँग सम्भावना बाँकी छ कि सहमतिको ढोका बन्द भइसक्यो? भन्ने विषयको वरिपरि रहेर एमाले नेपाल समूहकी प्रभावशाली नेतृ अष्टलक्ष्मी शाक्यसँग फरकधारका रुपक चौलागाईंले कुराकानी गरेका छन्।

एमालेलाई फुटबाट जोगाउन दोस्रो तहका नेताहरू निरन्तर संवादमा जुट्नु भएको छ। मिल्ने सम्भावना बढ्दै गएको हो?

त्यस्तो सम्भावना देख्नुभएको छ र? वार्ता अब नगर्नुभन्दा गर्नु राम्रै हो। तर, मिल्ने छाँटकाँट देखिँदैन। वार्तामा बेकारमा अल्मल्याउने, निश्कर्ष नदिने, एकताको कुरा गर्दै नगर्ने जस्ता दृश्य देखिन्छन्। 

मिल्ने कुरा अड्किएको चाहिँ २८ फागुनको निर्णय र २ जेठ ०७५ मा फर्किन ओली समूह नमानेर हो? 



हो, उहाँ (प्रधानमन्त्री) अरुलाई पदमा बसेको देख्नै चाहानुहुन्‍न। त्यसैले अध्यक्ष र महासचिवलाई मात्र राखेर जाने भन्ने कुरा छ। तर, अब हामी भन्छौं महाधिवेशनबाट निर्वाचित हौँ नि त। अनि केपी ओलीले आफ्नो खुसीले हटाउन पाइन्छ? पाइँदैन नि। यो त सरासर अवैध निर्णय हो नि त। त्यसकारण त्यो निर्णयलाई नसच्याइ खुरुक्क ओलीसँग मिल्ने कुरा आउँदैन। 

२०७५ जेठ २ गतेमा पनि फर्कनैपर्यो। त्यत्रो भद्रगोल आयोजक कमिटी गठन गरिएको छ, त्यो मान्नै सकिँदैन। ओलीको मनखुसीले जथाभावी व्यक्ति राखिएको छ। त्यसलाई त मान्नै सकिँदैन नि। त्यसो भएको कारणले पनि पुरानै अवस्थामा आउने सम्भावना देख्दिनँ म त। तर, कुराकानी चाँही नगर्नुभन्दा गर्नु राम्रो हुन्छ। अन्तिम प्रयास त गर्नैपर्यो भनेर नेताहरू लाग्नुभएको हो। तर, प्रयास गर्दागर्दै पनि आफैं थकित हुने अवस्था पनि नहोस्।



यो विषय मिल्दैन, हामी अर्को काम गर्नुपर्ने त्यतातिर पनि अलमल भइरहेको छ। किनभने, यतिबेला एउटा प्रष्ट दृष्टिकोणका साथ, प्रष्ट अडानका साथ अगाडि बढ्न सकेन भने त नोक्सान हुन्छ नि त। त्यसो भएको हुनाले पनि सम्भावना कट्यो भन्छु म। उहाँ सहमति गर्नेतिर लागेको देखिनु हुन्‍न। यस्तो महामारीको बेलामा देश र जनताको सेवामा हुनुपर्ने बेलामा ३-३ घन्टा अल्मल्याएर छलफल गरेजस्तो गरेर के काम भन्या? 

अब २७ गते के गर्नुहुन्छ? छलफल कसरी अगाडि बढेको छ?

२७ गते केपी ओलीले हार्नै पर्छ, हराउनैपर्छ अहिलेसम्म उहाँको अवस्था हेर्दा चाहिँ। यत्रो महामारीको बेला अनावश्यक राजनीतिक छलफलले मान्छेको ध्यान नै मोडिएको छ। एउटा सत्ताको खेलमा सबैको ध्यान केन्द्रित गर्नु अत्यन्तै दुःख लाग्दो कुरा छ। 

मेरो प्रष्ट कुरा भनेको, अब ओलीलाई साथ दिइराख्नु जरुरी छैन। अत्यन्तै गलत बाटोमा हिँडिरहेको मान्छेलाई किन विश्वासको मत दिनु? फेरि पनि उनलाई जोगाउनु भनेको आफैंलाई सिध्याउनु हो।

यस्तो नेतृत्व देशका लागि काम लाग्दैन। जनताको वास्तै नगर्ने, उल्टो चाहिँ लोकतन्त्र बलियो बनाउने भन्दापनि सिध्याउन खोज्ने, पार्टीहरू बलियो बनाउने भन्दा पनि फुटाउन खोज्ने, कमजोर बनाउने ढंग देखिएको छ। जुन ढंगले उहाँ अघि बढ्नुभएको छ त्यो देशका लागि घाटा हो। त्यही भएर पनि उहाँलाई विश्वासको मत दिन सकिँदैन। 

प्रधानमन्त्री त विश्वास नपाए पनि मै जित्छु भन्नुहुन्छ त? चुनावमा जाने बाटो खोल्न लाग्नुभएको हो कि? 

उहाँ (प्रधानमन्त्री) लाई जे सिकाइएको छ, त्यसबाट दायाँबायाँ हुनुहुन्‍न। उहाँको अडान प्रष्ट छ दृष्टिकोण प्रष्ट छ, गलत नै भएपनि। उहाँ जाने बाटो प्रष्ट छ, सबै सिध्याउने नै उहाँको बाटो हो। लोकतन्त्र, गणतन्त्र सिध्याउने, कमजोर बनाउने, पार्टीहरू टुक्राउने, अनि देश कमजोर बनाउने उहाँको बाटो देखिन्छ। 

उहाँले न कम्युनिष्ट सिद्धान्त बोक्नुभएको छ, न विचार, न जनताको सेवामा मन गएको छ, बाहिर देखावटी गरेका छन्। अब सोच्नुपर्छ, यस्तो नेता वा प्रधानमन्त्री देशका लागि काम लाग्दैन भनेर सोच्नुपर्छ। त्यसो भएको हुनाले यो मौका आएको छ भन्छु म। उहाँले त विघटन गरेर चुनाव-चुनाव भनिरहनु भएको छ। त्यतातिर जाने होला। त्यसलाई छेक्ने कसरी? उहाँलाई छेकेर हराउने कसरी भन्ने त्यो छलफलमा लाग्नुपर्यो भन्छु म। 

अलिकति सबै नेताहरूले यतिबेला केपी ओलीको गलत कुराहरूको विषयमा कसरी लाग्ने? देशलाई कसरी बचाउने? लोकतन्त्र र गणतन्त्र कसरी बचाउने? पार्टीलाई कसरी बचाउने? भन्‍नेतिर छलफल गरेर गयो भने ठिक निष्कर्षमा पुगिन्छ। नत्र जति बेलै पदकै, सत्ताकै कुरा गर्‍यो भने बर्बादीतिर जान्छ। 

सहमतिका लागि आज र भोलि समय बाँकी छ। निश्कर्ष कहिले, कस्तो आउला?

अहिले कम्तिमा पनि स्थायी कमिटी नेताहरू लाग्नुपर्यो, पहल गर्नैपर्यो भनेर लागेका हौं। फुट्नुभन्दा मिल्नु अत्यन्तै राम्रो हो भनेर हामी र हाम्रा नेताहरू लाग्नुभएको हो। अहिलेको अवस्थामा त सबैभन्दा राम्रो नै एकता तय गर्नु हो। तर, एकताको आधार के? के का लागि एकता गर्ने? के का लागि ओलीलाई साथ दिने? भन्ने कुराको त प्रष्ट हुनुपर्यो नि। परेन?

अलिकति सबै नेताहरूले यतिबेला केपी ओलीको गलत कुराहरूको विषयमा कसरी लाग्ने? देशलाई कसरी बचाउने? लोकतन्त्र र गणतन्त्र कसरी बचाउने? पार्टीलाई कसरी बचाउने? भन्‍नेतिर छलफल गरेर गयो भने ठीक निष्कर्षमा पुगिन्छ। नत्र जति बेलै पदकै, सत्ताकै कुरा गर्‍यो भने बर्बादीतिर जान्छ। 

त्यो एकताले पनि आफैंलाई सिद्याउँछ भने वा लोकतन्त्र र गणतन्त्रलाई नै कमजोर बनाउँछ भने त्यो के को एकता बन्यो र? त्यसकारण यी सम्पूर्ण कुरामा सबै बसेर छलफल गरिदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ। 

आज दिनभरि पनि छ, भोलिसम्म एउटा निधो गर्नैपर्छ। हामीले पनि भनेका छौं, हामी सामूहिक निर्णय नै गर्छौं। तर, अहिले चाँही अलिकति छलफल होस् भनेर हामीले जिम्मेवारी दिएका हौं। अहिले तरल नै अवस्था भएकाले पनि अन्तिम स्थिति आइसकेपछि एउटा निर्णय गर्नैपर्छ। सम्पूर्ण एकताको ढोका बन्द हुने भएपछि एउटा निर्णय गर्नैपर्छ। हामी गर्छौं। 

मेरो प्रष्ट कुरा भनेको, अब ओलीलाई साथ दिइराख्नु जरुरी छैन। अत्यन्तै गलत बाटोमा हिँडिरहेको मान्छेलाई किन विश्वासको मत दिनु? फेरि पनि उनलाई जोगाउनु भनेको आफैंलाई सिध्याउनु हो। 

सहमति नभए सामूहिक राजीनामा दिने पक्कापक्की हो उसो भए? 

सामूहिक राजीनामाको विषय पनि उठेको छ। साथीहरूले आ-आफ्नो विचार राख्दा खेरि उठेको विषय हो यो पनि। किनभने, फ्लोर क्रस नैतिकताले नदिने कुरा पनि हो। त्यो पनि गर्नै नहुने भन्ने त होइन्, त्यै पनि त्यो भन्दा राम्रो उपाय भनेको राजीनामा हो। आखिरमा ओलीले कारबाही त गर्ने नै हुन्! बाँकी राख्या पनि छैन। माधव नेपाललाई कारबाही गरिएको छ। यो सबैलाई हेरेर सामूहिक राजीनामा पनि राम्रो उपाय हो भन्ने आएको छ। एउटा निर्णयमा हामी पुग्छौं, अल्मलिएर बस्दैनौँ। 

हामी सबैले बनाउने एउटा प्रष्ट दृष्टिकोण भनेको अब केपी ओलीले जित्न हुँदैन्। देश र जनताको हितका लागि, लोकतन्त्रलाई जोगाउनका लागि, कम्युनिस्ट आन्दोलनलाई जोगाउनका लागि निर्णय दिन सक्नुपर्छ। 

दोस्रो तहका नेताहरू सक्रिय त हुनुहुन्छ? ओली गल्नुहोला जस्तो देखिएको छैन। अनि के होला? 

मैले भनेँ नि, केपी ओली आफ्नो बाटोमा प्रष्ट छन्। गलत विचार, सोच बोकेर डिजाइनका साथ चलेका छन्। नबुझ्ने त हामी भयौं। अल्मलिएर बसेका त हामी भयौं। उनीसँग के आशा गर्नु? प्रष्ट हुनु जरुरी छ र सही निर्णय गरेर एकताबद्ध हुनेगरी निर्णय गर्नु आवश्यक छ भन्छु यतिबेला।

ओलीलाई अपदस्थ गर्न उपयुक्त समय हो यो। ओलीप्रति आशा र विश्वास राखेर कुराकानी गरिएको होइन्। कार्यकर्ताको भावना पनि एकपटक बुझौँ न भनेर हो। पार्टी स्थापनाका लागि अग्रजहरूले कति दुःख गरे, इतिहास पल्टाएर हेर्ने हो भने मान्छेहरू धुरुधुरु रुन्छन्। त्यो अवस्थाबाट यहाँसम्म आइपुगेको यो आन्दोलन बिगार्न खोजेपछि त्यसको विरुद्धमा लागेका हौँ। 

मैले भनेँ नि, केपी ओली आफ्नो बाटोमा प्रष्ट छन्। गलत विचार, सोच बोकेर डिजाइनका साथ चलेका छन्। नबुझ्ने त हामी भयौं। अल्मलिएर बसेका त हामी भयौं। उनीसँग के आशा गर्नु? प्रष्ट हुनु जरुरी छ र सही निर्णय गरेर एकताबद्ध हुनेगरी निर्णय गर्नु आवश्यक छ भन्छु यतिबेला।

भरसक, नबिग्रियोस्, एकतावद्ध भएर अघि बढोस् भन्ने हो। तर, पार्टी एकढिक्का एउटा सिद्धान्त, विचार र नीतिको आधारमा हुन्छ। अब त्यही नै नभएपछि के को एकता? मिलौँ भनेर मात्र हुँदैन नि त? ओलीसँग यी सबै कुरा समाप्त भइसक्यो, अब यो अन्तिम कुरा हो। धेरै खेल खेल्न थालेपछि खेल्न दिनुहुँदैन भन्ने हो। राष्ट्रपतिलाई प्रयोग गरिएको छ। नेताहरूलाई अल्मल्याएको छ। लाजमर्दो कुरा हो नि यो त। उता, कोभिडका कारण जनता मरिरहेका छन्, तर उनको ध्यान भने सत्तातिर मात्रै छ। 

पछिल्ला वार्ता ओलीले एकताका लागि हरसम्भव प्रयास गरेको थिएँ भनेर देखाउनका गरेका हुन् भन्‍ने तपाईँहरूको निष्कर्ष हो?

हो, उहाँलाई हामीसँगै नजिकिने मन नै छैन। माधव नेपालप्रति होस् वा हामीप्रति होस् उहाँलाई घृणा छ। एउटा कनिकासम्म पनि हामीमाथि माया छैन। विश्वास पनि छैन्। त्यसकारण हामीले मात्र ओली ओली भनेर लाग्नुपर्ने छैन। यो अन्तिम प्रयास मात्रै हो। झुक्याउन वा अल्मल्याउन मात्रै भएको हुनसक्छ। यसबाट चुप बस्न सकिँदैन।

  • प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार २१:३६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया