संवैधानिक परिषद् : लोकसेवा अध्यक्षमा माधव रेग्मी, अख्तियारमा दिलीप रेग्मी
निर्वाचन आयोगमा वीरबहादुर राई

संवैधानिक परिषद्को आइतवार बसेको बैठकले दुईवटा संवैधानिक निकायमा नियुक्तिको टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले लोक सेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिको टुंगो लगाएको हो। 

लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीलाई नियुक्त गर्ने निर्णय संवैधानिक परिषद्ले गरेको छ। उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका दाजु पनि हुन्। उनी यसअघि लोकसेवा आयोगमा पनि सचिवका रुपमा कार्यरत थिए। 

पाँच वर्षअघि आयोगको सचिवबाट अवकाश पाएका ५९ वर्षीय रेग्मी झापाको गौरादह नगरपालिका-३ का बासिन्दा हुन्। रेग्मीले विभिन्न पदमा रहेर आठ वर्ष आयोगमा काम गरेका थिए।

त्यस्तै रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का पूर्व प्रमुख दिलीप रेग्मीलाई लैजाने निर्णय गरेको छ । त्यस्तै, निर्वाचन आयोगमा पूर्व सचिव वीरबहादुर राईलाई नियुक्तिको निर्णय गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका छन् । 

प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बैठक बहिस्कार गरेका थिए। कांग्रेस सभापति देउवाले सरकारले संविधान विरोधी काम गरेको भन्दै बैठक अस्वीकार गरेका थिए।



कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा बिमति जनाइसकेको छ। सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा सरकारले अध्यादेश ल्याएको थियो । 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन संवैधानिक परिषद बैठक राखेका थिए। ओलीले प्रतिनिधि सभाबाट भोलि सोमबार विश्वासको मत लिँदैछन्। 



  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार १३:२२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया