हेटौँडामा सोमबारबाट निषेधाज्ञा कडाइ, अटेरी गर्ने सवारीसाधन होल्ड
आइतबार ९० सवारीसाधन नियन्त्रणमा

हेटौँडाको ४ वटा स्थानीय तहमा जारी निषेधाज्ञा अझै कडा हुने भएको छ । हेटौँडासहित अन्य बजार क्षेत्रमा निषेधाज्ञाको बाबजुद पनि चहलपहल भएको भन्दै झन् कडाइ गर्ने भएको हो । अवस्था गम्भीर बन्दै गएकोमा जनताले प्रशासनलाई साथ नदिए स्थिति झन् कडा हुने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

उनले अतिआवश्यक नभई घरबाहिर ननिस्किन जिल्लाबासीलाई आग्रहसमेत गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारबारे गरेका कामबारे हेटौँडाका पत्रकारसँग छलफल गर्दै यस्तो बताएका हुन् । पाण्डेले पत्रकारलाई  जिल्लामा कोरोना नियन्त्रणका लागि भइरहेका गतिविधिबारे जानकारी गराएका थिए । उनले मकवानपुरका ४ स्थानीय तहमा निषेधाज्ञा लगाइएको भए पनि यसको पूर्णपालना हुन नसकेको र सर्वसाधरणले कोरोना जोखिमप्रति बेवास्ता गरेको बताए ।
  
छलफलमा पत्रकारले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, खाद्यसामग्री स्थानीय पसलबाट खरिद गर्नुको सट्टा बजारसम्म आउने क्रमलाई रोक्नुपर्ने, सुरक्षा निकायलाई बजार केन्द्रित मात्र नभई भिडभाड हुने गरेका ग्रामीण क्षेत्रसम्म परिचालन गर्नुपर्नेलगायत सुझाब दिएका थिए । उनीहरूले बिरामी ओसारपसारमा एम्बुलेन्सको असहजता, बजारमा देखिएको कृत्रिम अभाव, मूल्य वृद्धिजस्ता विषयमा प्रशासनले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

अक्सिजन पर्याप्त 

मकवानपुरमा पर्याप्त अक्सिजन सिलिन्डर भएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताएका छन् । उनले जिल्लामा अक्सिजन सिलिन्डर अभाव नभएको, तर खाली भएका सिलिन्डरमा अक्सिजन भर्न जाँदा समय लाग्ने समस्या रहेको बताए । ‘प्लान्टले खाली सिलिन्डरमा  अक्सिनज भर्न ढिलाइ गर्दा स्टक बढाउनुपरेको छ । 

कोभिड अस्पताल बनाइएको हेटौँडा अस्पतालमा दैनिक ठूलाखाले ९० सिलिन्डर प्रयोगमा आइरहेको छ । हामीसँग जिल्लामा ३ सय सिलिन्डर अक्सिजन भरेर राखिएको छ । जिल्लामा रहेको ३ अक्सिजन सप्लायर्स र विभिन्न उद्योगको संकलन भएको सिलिण्डर गरी १५ सय थान सिलिन्डर हुन्छ । जिल्लामा ८० प्रतिशत सिलिन्डर औद्योगिक उत्पादनको लागि प्रयोग हुँदै आएको छ भने २० प्रतिशत मात्रै अस्पतालमा प्रयोग भएको छ,’ पाण्डेले भने ।  

पाण्डेका अनुसारमा मकवानपुर जिल्लाका औद्योगिक क्षेत्रमा भएका अक्सिजन सिलिन्डर संकलन गरेर खाली सिलिन्डरमा अक्सिजन भर्न चितवन, वीरगन्ज वा अन्य जिल्लामा पठाएर भरिरहेको उनले बताए ।  



९० सवारीसाधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार जिल्लामा निषेधाज्ञा अटेर गरेर चलाउने ९० सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । प्रहरी नायव उपरीक्षकसमेतको चेकिङ टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लंघन गर्ने मोटरसाइकल–स्कुटर ५६, अटो १०, ट्रक १५, कार २ र बस ७ गरी जम्मा ९० सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । 



निषेधाज्ञा अटेर गरी पसल सञ्चालन गर्ने दुई पसल सञ्चालकलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन, २०२० बमोजिम आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाइएको छ ।

  • प्रकाशित मिति : बैशाख २६, २०७८ आइतबार २१:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया