टीकापुर अस्पतालमा दुई दिनमा ११ जनाको मृत्यु

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएको छ । आइतबार मात्रै अस्पतालमा छ जनाको ज्यान गएको थियो ।

आइतबार रातिदेखि अहिलेसम्म मृत्यु हुनेमा टीकापुर नगरपालिकाका ३, जानकी र बर्दगोरीया गाउँपालिकाका १/१ जना रहेका छन । अस्पतालका मेसु डा. रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका-१ का ५१ वर्षीया महिला, ७ का ६० वर्षीया महिला र ७ कै ६७ वर्षका पुरुषको ज्यान गएको हो । त्यस्तै जानकी गाउँपालिका-१ का ५८ वर्षका पुरुष र बर्दगोरिया गाउँपालिका-४ का ४५ वर्षका पुरुषको समेत उपचारका क्रममा ज्यान गएको छ ।

उनीहरु सबैलाई कोरोनाको लक्षण देखिएको मेसु डा. राईले जानकारी दिए । उनका अनुसार मृतक सबैमा स्वास प्रश्वास र फोक्सोमा समस्या देखिनुका साथै अक्सिजनको मात्रा कम हुँदै गएको थियो । उनीहरु मध्ये कतिपयको कोरोना पोजेटिभ रिपोर्ट आएको र कतिपयको रिपोर्ट आएको छैन । अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ ।

बिरामीको चाप बढेसँगै अस्पतालमा उपचार गर्न कठिनाइ भइरहेको मेसु डा. राईले बताए । उपचाररत बिरामीलाई तत्काल अक्सिजनको अभाव भएको छ । आइतबार अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि स्थानीय अक्सिजनको व्यवस्थापनका लागि आफै अग्रसर भइरहेका छन् । उनीहरुले अक्सिजन खरिदका लागि आर्थिक संकलन अभियान सुरु गरेका छन् ।

दोस्रो चरणको कोरोना फैलिएपछि टीकापुर नगरपालिकामा हालसम्म १९ जनाको ज्यान गएको छ ।

आइसियु प्रयोगविहीन 



कोरोना संक्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको आइसियु प्रयोगविहीन छन् । एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटरसहितको आइसियु प्रयोगविहीन भएका हुन् ।

अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसियुमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना संक्रमित उपचार नपाएर ज्यान गुमाइ रहेका छन् । अस्पतालले हाल २० शय्याको एचडियु (उच्च उपचार कक्ष) स्थापना गरेर कोरोना संक्रमितको उपचार गर्दै आएको छ ।



आइसियु सञ्चालनमा आउन नसक्दा कोरोना संक्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनु पर्ने बाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना संक्रमितले सहज रुपमा उपचार पाउन नसक्दा ज्यान गुमाउनु पर्ने अवस्था आएको हो । स्थानीयले जनशक्तिको व्यवस्थापन गरेर भए पनि तत्काल आइसियु सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् । 

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको बताए । ‘गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौं, आफू पनि खोजिरहेका छौं तर पाउन सकेका छैनौं’, उनले भने, ‘संघीय मन्त्रालय, प्रदेश सरकारमा कुरा गर्दा पनि अहिलेसम्म पाएका छैनौं ।’ अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गरे ।  

कैलालीको पूर्वी भेगका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिँदै आएको यो अस्पतालले विगत लामो समयदेखि नै जनशक्ति अभाव भोग्दै आएको छ ।

  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १२:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया