पाकिस्तानले घरेलु टोली जिम्बावेमाथि दुई खेलको टेस्ट सिरिजको दोस्रो खेलमा पनि सानदार जित दर्ता गर्दै क्लिनसिप गरेको छ ।
उसले दोस्रो टेस्टमा जिम्बावेमाथि इनिङ र १४७ रनको सहज जित हात परेको हो ।
फ्लो अनमा परेको जिम्बावेले दोस्रो इनिङमा सबै विकेट गुमाएर २३१ रन मात्र बनाएपछि पाकिस्तानले सहज जित हात पारेको हो ।
जिम्बावेका रेगिस चकब्वाले सर्वाधिक ८० रनको योगदान दिए । १३६ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे ।
कप्तान ब्रेन्डन टेलरले ४९, ल्युक जोन्गवे ३७ रनको योगदान दिए ।
पाकिस्तानका सहिन अफ्रिदी र नौमान अलीले समान ५-५ विकेट लिए ।
हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ८ विकेट गुमाउँदै ५१० रन बनाएपछि पारी समाप्तिको घोषणा गरेको थियो ।
पाकिस्तानका आबिद अलीले दोहोरो शतक प्रहार गर्दा अजहर अलीले शतकीय पारी खेले ।
४०७ बलको सामना गरेर आबिदले २९ चौकाको मद्दतमा २१५ रन बनाएका थिए । १२६ रन बनाएका अजहरले २४० बलमा १७ चौका र १ छक्का प्रहार गरे ।
नौमान अलीले १०४ बलमा ९ चौका र ५ छक्काको मद्दतले ९७ रनको योगदान दिए ।
जिम्बावेका मुर्जाबानीले ३, टेन्डाई चिसोरोले २, डोनाल्ड तिरिपानो, ल्युक जोन्गवे र रिचर्ड नगराभाले समान १-१ विकेट लिए ।
पहिलो इनिङमा जिम्बावेले सबै विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । ३७८ रनले अघि भएपछि पाकिस्तानले फलो अन दिएको थियो ।
जिम्बावेका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
उसका लागि रेगिस चकब्वाले सर्वाधिक ३३, डोनाल्ड तिरिपानोले २३, ल्युक जोन्गवे १९ र रिचर्ड नगराभाले अविजित १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पाकिस्तानका हसन अलीले ५, साजिद खानले २ सहिन अफ्रिदी र ताबिस खानले समान १-१ विकेट लिए ।
पहिलो टेस्टमा पनि पाकिस्तान इनिङ र ११६ रनले विजयी भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।