किसानका समस्यामा केन्द्रित हुन आयोगका पदाधिकारीलाई मन्त्री अर्यालको निर्देशन

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरूलाई किसानका समस्यामा केन्द्रित रहन निर्देशन दिएकी छन् । उनले किसानका समस्याको विस्तृत अध्ययन गरी समाधानमा योगदान गर्न निर्देशन दिएकी हुन् । झण्डै दुई तिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउने अपेक्षा व्यक्त मन्त्रीले गरिन् ।

मन्त्री अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियम लगायतका कानुनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधार गर्न राह सल्लाहको समेत अपेक्षा राखिन् ।

कोरोना महामारीले कृषि क्षेत्रमा पारेका असरहरूको अध्ययन गर्दै किसानलाई आवश्यक उत्पादन सामग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजहरूलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाब नेपाल सरकारलाई पेस गर्न उनले अनुरोध गरिन् । 

यसअघि मन्त्री अर्यालले राष्ट्रिय किसान आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमपूसाद दङ्गाललाई सपथग्रहण गराएकी थिइन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गाल सहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा सपथग्रहण गरेका हुन् । 

मन्त्री अर्यालकै उपस्थितिमा अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ती पौडेललाई सपथग्रहण गराएका थिए ।

आयोगका रिक्त अध्यक्ष सहित सदस्यहरुको गत वैशाख १९ गतेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो । योसँगै किसान आयोगमा रिक्त सम्पूर्ण पदहरूमा पूर्णता पाएको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०७८ साेमबार १७:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया