प्रचण्ड-उपेन्द्रलाई स्वास्थ्य मन्त्रीको चेतावनी : झुटो कुरा नबोल्नू, तथ्यांक छैन भने म दिन्छु
खोप खरिदमा कसैलाई कमिसन नदिएको जिकिर

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूले जथाभावी बोलेको  भन्दै कडा प्रतिवाद गरेका छन्। 

उनले तथ्यमा नटेकी जथाभावी नबोल्न पनि प्रचण्डसहितका सांसदलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको विशेष अधिवेशनमा बोल्दै प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले कोरोनाविरुद्धको खोप खरिदमा भ्रष्टाचार गरेको भन्दै आलोचना गरेपछि त्रिपाठीले आक्रोश पोखेका हुन्। 

‘बोल्न त बोल्नु तर बुझेर मात्रै बोल्नु, डेटा छैन, समय छैन भने हामी दिन्छौं', त्रिपाठीले मंगलबार भएको भर्चुअल पत्रकार सम्मेलनमा प्रचण्ड र उपेन्द्र यादवतिर लक्षित गर्दै भने, 'अनर्गल र झुटो कुरा आत्मरतिका लागि कसैले नबोल्नू।’

त्रिपाठीले खोप खरिदका लागि एक पैसा पनि कसैलाई कमिसन नदिएको बताए। उनले सरकारले कसैलाई कमिसन दिने अवस्था पनि नरहेको दाबी गरे। उनले त्यसबाहेक अरु खोप खरिद नगरेको पनि स्पष्ट पारेका छन्।

‘सरकारले खरिद गरेको २० लाख डोज खोप हो, त्यसका लागि ८० प्रतिशत पैसा पठाइएको छ । त्यसबाहेक अरु खोप खरिद गरेकै छैन’, मन्त्री त्रिपाठीले भने, ‘बुझेर बोल्नुहोस् । तथ्यांक छैन भने हामी दिन्छौँ । आत्मरतिका लागि नबोल्नुहोस् । खोप खरिदमा कसैलाई पनि कमिसन दिइएको छैन ।’

सरकारले अहिलेसम्म २० लाख डोज मात्रै कोरोनाविरुद्धको खोप प्रतिडोज ४ डलरमा खरिद गरेको जानकारी दिए। '४ डलरभन्दा कममा कसैले ल्याउन सक्छ भने सरकारले एक करोड डोज खरिद गर्नेछ', उनले भने। 



आपूर्ति हुन नसकेको स्वीकार

मन्त्री हृदयेश त्रिपाठीले माग अनुसारको अक्सिजन आपूर्ति गर्न नसकेको कुरा भने स्वीकार गरेका छन्। मन्त्री त्रिपाठीले अक्सिजन सिलिन्डर अभाव भएकाले माग पूरा गर्न नसकिएको बताए ।



उनले चीनबाट अक्सिजन सिलिन्डर ल्याउन लागेको पनि जानकारी दिए । उनले यसो भनिरहँदा ४ सय थान अक्सिजन सिलिन्डर नेपाल वायु सेवा निगमको जहाजले काठमाडौं ल्याएको छ।

खरिद गरिएकोमध्ये बाँकी १० लाख खोप कहिले आउँछ भन्ने अझै टुंगो नलागेको मन्त्री त्रिपाठीले बताए। कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा ढिला भएको उनले बताए ।

‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको छ', उनले भने, 'सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौँ।’

  • प्रकाशित मिति : बैशाख २८, २०७८ मंगलबार १८:३५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया