महन्थ ठाकुरको दौडधूप : आजै राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटे
उपेन्द्रलाई आधिकारिक नमान्‍न राष्ट्रपतिसँग आग्रह

नेपालको संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी दिएको समय भोलि ९ बजे राति सकिँदैछ । सरकार निर्माणका लागि विपक्षी दल सक्रिय बनिरहेका छन् भने ओली सरकारलाई नै टिकाइ राख्ने प्रयास पनि कमजोर छैन ।

नयाँ सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र यादव समूह सक्रिय छ भने ओली सरकार बचाइ राख्ने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित जसपा महन्थ ठाकुर समूह उत्तिकै लागेको छ।

सरकार बनाउने र गिराउने खेलमा जसपा निर्णायक भएपछि अन्य दलभन्दा सक्रियता धेरै छ । जसपाका दुईवटै खेमा आफ्नो दलसँगै अन्य पार्टीसँग पनि छलफलमा  सक्रिय छन् ।

नयाँ सरकार बनाउन एक दिन बाँकी रहँदा उपेन्द्र यादव पार्टीको आन्तरिक छलफलसँगै कांग्रेस-माओवादीसँग पनि संवादमा छन्। महन्थ ठाकुर समूहले सरकार निर्माण प्रक्रियामा सहभागी नहुने जनाए पनि उपेन्द्र समूहकै गतिमा सक्रिय छ ।

स्रोतका अनुसार अहिलेसम्म ठाकुरले दुईवटा उच्चस्तरीय भेटघाट गरिसकेका छन् । बिहान साढे ९ बजेदेखि दिउँसो एक बजेसम्म वरिष्ठ नेता राजेन्द्र महतोसहित ठाकुरले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग छलफल गरेका छन् ।

बालुवाटार बैठक सके लगत्तै ठाकुरको समूह शीतल निवास पुगेको थियो । ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक माहौलबारे छलफल गर्दै आधिकारिक चिठी बुझाएको बताइन्छ । 



ठाकुर समूहले जसपाको प्रथम अध्यक्ष महन्थ ठाकुर भएको दाबीसहित निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने जनाएको छ। उसले अरु कोही आए वैधता नदिन राष्ट्रपतिसमक्ष आग्रह गरेको बुझिएको छ । स्रोतका अनुसार पत्रमार्फत आफ्नो पार्टी सरकार निर्माणमा सहभागी नहुने राष्ट्रपतिलाई जानकारी गराइएको छ ।

पदाधिकारी बैठक बोलाउने तयारी



उच्चस्तरीय भेटघाटसँगै ठाकुर समूहको आजै जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईसँग उनकै निवासमा भेटघाटको सेड्युल बनेको छ ।

स्रोतका अनुसार त्यसपछि सम्भवतः आजै जसपा पदाधिकारीको बैठक बोलाउने समेत तयारी छ । नयाँ सरकार निर्माणमा के गर्ने भन्नेबारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाउन लागिएको स्रोतको दाबी छ ।

  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १६:१५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया