किसान अप्ठ्यारोमा परेको बेला टुलुटुलु हेरेर बस्दैनौँ : मन्त्री अर्याल

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले किसानहरु मर्कामा परेका बेला राज्य टुलुटुलु हेरेर नबस्ने बताएकी छन् । 

कोरोना महामारीले कृषि क्षेत्रमा पारेको प्रभाव तथा महामारीले कृषि उत्पादनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापन र उत्पादित उपज÷वस्तुको बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बुधवार मन्त्रालयले सरोकारवालाहरु बीच आयोजना गरेको भर्चुअल छलफलमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । 

सरकारका तर्फबाट संकटको समयमा गर्नुपर्ने कामहरुमा आवश्यक छलफल गरी अगाडि बढ्ने बताउँदै मन्त्री अर्यालले जनतालाई अप्ठ्यारो पर्दा राज्य टुलुटुलु हेरेर बस्न नसक्ने र त्यसको आवश्यक समाधानका निम्ती पहल गर्ने बताइन् । 

’जनतालाई अप्ठ्यारो पर्दा कोही पनि टुलुटुलु हेरेर बस्न सक्दैन । सामूहिक समस्या समाधान गर्न के गर्न सक्छौँ त्यसमा हामी लाग्छौँ’, मन्त्री अर्यालले भनिन्, ’संकटमा गर्नुपर्ने कामसँग जोडिएका कुरासँग हामी अगाडि बढ्छौँ । यो हामी सबैको साझा समस्या हो । त्यो महसुस गरेर एकजुट भएर समस्या समाधानमा अगाडि बढ्नेछौँ ।’ 

कोभिड महामारीका कारण कृषि उपज वस्तुको मूल्य घट्यो भन्ने गुनासो आएको भन्दै मन्त्री अर्यालले उक्त विषयमा केही राहतको प्रबन्ध गर्न सकिन्छ कि भनेर मन्त्रालयमा छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । ताजा तरकारीको ढुवानीको व्यवस्थाका सम्बन्धमा आवश्यक पहल गरिने भन्दै मन्त्री अर्यालले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको र छिट्टै आवश्यक पहल गरिने बताइन् । 

तत्कालको समस्या समाधानसँगै दीर्घकालका लागि पनि समस्या समाधान गर्नेगरी अगाडि बढ्ने उनले बताइन् । मन्त्री अर्यालले भनिन्, ’तत्कालको समस्या समाधानसँगै दीर्घकालका निम्ती पनि केही समाधान गर्नेगरी खासगरी ढुवानी र अनुदानका सम्बन्धमा केही व्यवस्था गर्न सकिन्छ कि भनेर हामी छलफल गर्छौँ । अनलाइनमार्फत माग आपूर्ति र व्यवस्था संकलन गर्न तथा टेलिफोनबाट कृषकको अवस्था बुझ्ने कार्यलाई पनि अगाडि बढाउँछौँ ।’



यसअघि कोरोना महामारीको दोस्रो लहर बढ्दै जाँदा विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको पहिलो दिनमै मन्त्री अर्यालले गृह मन्त्रालयलाई पत्र लेखी ढुवानीमा सहजीकरण गरिदिनका निम्ती आग्रह गरेकी थिइन् ।



  • प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार १७:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया