एमाले मिलाउने अन्तिम प्रयास, ओलीको सन्देशसहित पौडेल कोटेश्वरमासत्तारुढ नेकपा एमालेमा माधव नेपाल समूहलाई फकाउने अन्तिम प्रयास भइरहेको छ । नयाँ सरकार बनाउन विपक्षी दलहरु लागिरहेको बेला नेपाल समूहका सांसदहरुले राजीनामाको तयारी गरेका छन् ।
नेपाल समूहले यसअघि पनि राजीनामा तयार गरेको थियो । राजीनामा पत्र बोकेर संसद सचिवालयमा पुगेका नेताहरु आफ्नै समूहभित्र मतभेद देखिएपछि राजीनामा दिनबाट रोकिएका थिए । उनीहरु प्रधानमन्त्रीले विश्वासको मत लिने दिन संसदमा अनुपस्थित भएका थिए ।
आज पनि उनीहरुको राजीनामा रोक्नका लागि ओली पक्षबाट प्रयास जारी छ । सोही प्रयासस्वरुप ओलीका विश्वासपात्र एवं अर्थमन्त्री विष्णु पौडेल बिहानै नेपाल निवास कोटेश्वर पुगेका छन् । स्रोतका अनुसार मिलनबिन्दु खोज्ने गरी नेपाल समूहसँग वार्ता थालिएको छ ।
बालुवाटार स्रोतका अनुसार आजै एमाले स्थायी कमिटी बैठक बस्दैछ । बैठकले नेपाल समूहका मागलाई सम्बोधन गर्ने गरी मिलनबिन्दु खोज्ने प्रयास भइरहेको छ । ‘नेपाल समूहमा खासगरी भीम रावल, माधव नेपाल, अष्टलक्ष्मी शाक्यहरुलाई फर्कन गाह्रो भएको हो ।’ ओली निकट एक नेताले, ‘समस्या चाँही के हो भने उहाँहरुले कांग्रेससँग गठबन्धनका लागि वचन नै दिएको कारण फर्कन गाह्रो भएको हो के ।’
ती नेताका अनुसार आज मिलनबिन्दु भेटिने सम्भावना बढ्दै गएको छ । उनले भने, ‘राजीनामा दिने भनेपछि संख्या पुगेन, नपुगेपछि राजीनामा दिनुको कुनै अर्थ भएन, त्यसपछि उहाँहरु पनि दबाब मै हुनुहुन्छ । मिलनबिन्दुमा पुग्छ अब ।’
आजको बैठकले केही न केही मिलनबिन्दुमा पु¥याउने उनले दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।