प्लान्टमा समस्या आएपछि जनकपुरमा अक्सिजन अभाव

धनुषाको ढल्केबरमा रहेको अक्सिजन प्लान्टमा समस्या देखिएपछि जनकपुरमा अभाव सिर्जना भएको छ । ढल्केबरस्थित ग्यास प्लान्टमा समस्या आएपछि अक्सिजनको अभाव हुन थालेको हो ।

कोरोना संक्रमितको संख्या बढेपछि जनकपुरधाममा अक्सिजनको माग समेत बढ्न थालेको छ । एकातर्फ अक्सिजनको माग बढिरहेको छ, भने अर्कोतर्फ ढल्केबरस्थित ग्यास उद्योगको मेसिनमा खराबी आएपछि उत्पादन प्रभावित भएको छ । 

मिथिला नगरपालिका–३ लालभित्तीस्थित ढल्केबर ग्यास उद्योग प्रा.लि.को आइप्रेसर एण्ड एअर कम्प्रेसर मेसिन मंगलबार रातिदेखि अचानक खराब हुँदा जनकपुरधाममा अक्सिजनको चरम अभाव सिर्जना भएको हो । 

उद्योगका सञ्चालक मुन्ना सर्राफले कोभिडका कारण अक्सिजनको माग अचानक बढेपछि विगत २५ दिनदेखि निरन्तर चलिरहेको मेसिनमा अचानक खराबी आएको बताए । उनले गर्मीको समय रहेकोले मेसिनमा खराबी आएको हुनसक्ने बताए । 

टेक्निकल टिम मर्मतमा लागेको र आजदेखि सम्भवतः उत्पादन सुरु हुने सर्राफले जानकारी दिए । प्रतिघण्टा १५ वटाका दरले दैनिक ३ सयदेखि साढे ३ सयसम्म सिलिन्डर तयार हुने ढल्केबर ग्यास उद्योगको मेसिन खराब हुँदा जनकपुरधाममा अक्सिजनको चरम अभाव सिर्जना भएको हो । 

एकातर्फ कोभिडका बिरामीहरुका लागि अक्सिजनको अत्यधिक आवश्यकता परिरहेको छ भने अर्कोतर्फ ग्यास उद्योगको मेसिन खराब भएपछि हाहाकार मच्चिएको छ । 



ढल्केबर ग्यास उद्योगबाट जनकपुरधामस्थित प्रादेशिक अस्पताल, काव्या अस्पताल, नवजीवन हस्पिटल, जानकी हेल्थ केयर, चन्द्रकला अस्पताल, गोदावरी मोडर्न हस्पिटललगायतका ठाउँहरूमा दैनिक अक्सिजन निर्यात हुने गर्दछ । 

’विगतमा घाटामा रहेको उद्योगलाई कोभिडका कारण पुनः सञ्चालन गरेका छौँ । निरन्तर उत्पादन भइरहेको छ । तर, अचानक मेसिन बिग्रेपछि अस्पतालहरूमा अक्सिजनको अभाव भएको छ । बिरामी छटपटाएको देखेर हामी आत्तिएका छौँ । समस्या समाधानतर्फ लागेका छौँ’, सञ्चालक सर्राफले भने । 



अक्सिजनको मूल्य अचानक किन बढ्यो भन्ने प्रश्नमा सर्राफले विगतमा ५५ डलरमा पाइने सिलिन्डरको मुल्य १०२ डलरसम्म पुगेकाले ग्राहकसँग बढी मूल्य लिनुपर्ने बाध्यता रहेको सुनाए । यता एम्बुलेन्स सञ्चालकहरुले पनि अक्सिजनको अभाव हुँदा बिरामीलाई गन्तव्यसम्म पुर्याउन समस्या भइरहेको गुनासो गरेका छन् । 

अक्सिजन अभावले कोरोनाका बिरामीहरू छटपटाइरहेको अवस्था रहेपनि प्रदेश सरकारको यसतर्फ भने कुनै ध्यान पुगेको छैन । 

धनुषामा मिथिला नगरपालिकास्थित ढल्केबर ग्यास उद्योग प्रा.लि. र जनकपुरधामस्थित भाजुरत्न इन्जिनियरिङ्ग एण्ड सेल्स लिमिटेड तथा न्यू मानिया ट्रेडिङ्गले अक्सिजन आपूर्ति गरिरहेका छन् । तर, ढल्केबर ग्यास उद्योग बाहेक बाँकी दुई वटाले भने सामान्य उत्पादन मात्रै गरिरहेका छन् ।

  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार ११:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया