कठिन बन्दै पशुपतिमा संक्रमितको शव व्यवस्थापन, एकैदिन ११० सम्म
फरकधार / ३० बैशाख, २०७८

कोरोना भाइरस(कोभिड–१९)दोस्रो लहरले नेपालको अवस्था दिनानुदिन भयावह बन्दै गइरहेको छ।  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि तीब्र गतिमा बढिरहेको छ। 



मृत्यु हुनेमा पनि ठूलो संख्या काठमाडौं उपत्यकामै छ।  उपत्यकामा ठूलो संख्यामा संक्रमित बिरामीको मृत्यु  हुन थालेपछि पशुपति शव दाह केन्द्रमा शव व्यवस्थापन गर्न मुस्किल पर्न थालेको छ।

देशभर दैनिक मृत्यु हुनेको संख्या २०० हाराहारी पुग्न थालेको छ।  गतवर्षदेखि नै कोरोनाका कारण मृत्यु हुनेको पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह केन्द्रमा अन्त्येष्टि गरिदै आएको थियो।  



कोरोनाबाट मृत्यु हुनेको शवबाट अन्यमा संक्रमण नहोस् भन्ने हेतुका साथ पशुपति विकास कोष तथा नेपाली सेनाको सहकार्यमा उक्त कार्य हुँदै आएको छ।  



कोरोना भाइरसको डबल म्युटेन्ट स्वरुपले आक्रान्त रुप लिँदै गएपछि अहिले मृतकको संख्या ह्वात्तै  बढेको छ।

पछिल्ला दिनमा ३ वटा विद्युतीय शव गृहसँगै बाहिर १० वटा चिता बनाएर शव व्यवस्थापन गरिँदै आएको थियो।  विद्युतीय शव गृहमा तीन वटा मात्र मेसिन छन्।  जसले एउटा लास जलाउन १ घण्टा लगाउँछ।  

शव थपिदै गएपछि बाहिर चिता बनाएर जलाउन थालिएको थियो।  सुरुमा तीनवटा चिता बनाएर शव जलाइएको थियो।  पछिल्लो समय १० थियो।  मंगलबार बागमती किनारमा संक्रमितको शव जगाउनका लागि  ५० चिता बनाइएको थियो।   

मृत्यु हुने संक्रमितको संख्या दिनदिनै बढिरहेकाले शव व्यवस्थापनमा निकै चुनौती भएको शव व्यवस्थापनमा जुटेका पशुपति विकास कोषका सुवास कार्की बताउँछन्।  ‘हामीलाई एकदमै गाह्रो भएको छ’ कार्की भन्छन्, ‘एक्कासी शवको संख्या दिनदिनै बढ्दै छ।  तर  विपदको बेलामा आइपरेको जिम्मेवार निभाउन जतिसक्दो लागिपरिरहेका छौँ।’ 

पिपिई लगाएर निरन्तर खटिइरहेका उनीहरुका दुःखको बयान गरिसाध्य छैन।  न खानको ठेगान छ,  न पानीको। कार्कीसँगै पशुपति क्षेत्र विकास कोषका ३५ सदस्य र नेपाली सेनाका १० भन्दा बढी सदस्य पशुपतिमा शव व्यवस्थापनको काममा जुटिरहेका छन्।

कहाँबाट कति  आउँछन् ?

अहिले पशुपतिमा जति शव आइरहेका छन् करिब ९९ प्रतिशत अस्पतालबाट आउँछन्।  नेपाली सेनाले विभिन्न अस्पतालमा पुगेर शव संकलन गरी व्यवस्थापनका निम्ति पशुपति लिएर जाने गरेको छ।  

मंगलबार मात्रै पशुपति शव दाह केन्द्रमा कोरोनाबाट ज्यान गुमाएका ११० व्यक्तिको शव आएका थिए।  बुधबार पनि दिउँसो दुई बजेभित्रमा ३० भन्दा बढी शवहरु पशुपति शवदाहमा नेपाली सेनाले झारिसकेको थियो। 

व्यवस्थापक प्रमुख सुवास कार्कीका अनुसार आएका लासहरको उमेर तथा लिङ्ग पहिचानको निश्चित आँकडा छैन।  
ज्यानको माया छ तर जिम्मावारी पनि 

अहिले संक्रमितको शव व्यवस्थापनमा खटिएका सुवास कार्की पहिलो लहरमा आफैँ संक्रमणको शिकार बनेका थिए।  उनी आफैंले कोरोना भोगे।  ‘हाम्रो पनि घर परिवार जहान छन्।  हामीलाई पनि ज्यानको माया लाग्छ तर कति दिन भाग्ने यो परिस्थितिबाट, कहाँ जाने’ उनी सुनाउँछन्। 
गतसालको जेठ ३ गतेबाट उनी शव व्यवस्थापनको जिम्मावारी सम्हालिरहेका छन्।  

पहिलो लहरभन्दा ३ गुणा बढी शव

पहिलो लहरको संक्रमण भन्दा अहिलेको संंक्रमण सोच्दै नसोचेको भयवाह देखिएको सवास बताउँछन्।  पहिलो लहरमा एकैदिन अध्याधिक आइएको शव भनेको २९ थियो।   अहिले एकैदिन आउने शवको संख्या  ११० सम्म पुगिसकेको छ।  मृत्युदर बढ्ने क्रममा छ।  

चुनैती कति ?

अहिलेसम्म शव व्यवस्थापनमा ठूलो समस्या ननिम्तएको सुवासले सुनाए।  ‘दाउरा तथा परालका लागि सहयोग माग्दा पाइरहेकाले अहिले संकट धान्न सकिएको छ’ कार्की भन्छन्।  अहिलेसम्म चौतर्फी सहयोग पाइरहेको उनले जानकारी दिए।

कार्कीका अनुसार शव एकै पटक झर्छन् व्यवस्थापनमा नेपाली सेनाले मद्दत नगरेको भए  निकै गाह्रो हुन्थ्यो।  अहिले शव दहनमा समस्या भनेको दाउरा, कपुर, घिउ र परालको रहेको कार्की बताउँछन्। 

गाडी भाडादेखि हरेक कुरा अहिले व्यवस्थापन गर्न परिरहेको र निकट भविष्यमा समस्या देखिन सक्ने भन्दै कार्की चिन्ता व्यक्त गर्छन्।‘विद्युतीय शव गृहले धान्नसक्ने अवस्था हुँदा सामान माग्नुपर्ने अवस्था हुँदैनथ्यो’ काकी भन्छन्।  

बेलाबेला पानी परिरहेको हुन्छ।  बाहिर शव जलाइरहँदा पानी पर्दा समस्या थपिन्छ।  अहिले एयरपोर्टको कार्यदलबाट निकै सहयोग पाइरहेको छ।  पशुपति विकास कोषका कार्यदलले।  

विकास कोष र सेनाको सहयोगले कहिलेसम्म धान्ला ? 

यो महामारी हो।  यसमा राज्यको कुनै निकाय वा केही संस्थाको मात्र पहलले नपुग्ने कार्की बताउँछन्।  यसका लागि माथिल्लो तहबाटै छिटै तयारी थाल्नुपर्ने उनको बुझाइ छ।   ‘संकटका बेला सबैले मिलेर काम गर्नुपर्छ’ कार्की भन्छन्।   ‘महामारीको समयमा व्यक्तिगत स्वार्थबाट माथि उठेर काम नगरेका यसको सामान गर्न कठिन हुने उनको बुझाइ छ।  

  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १२:५०:५४,   अन्तिम अपडेट : बैशाख ३०, २०७८ बिहीबार १५:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया