जनता समाजवादी पार्टी नेपालका प्रथम अध्यक्ष महन्थ ठाकुरले आफूनिकट सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी बहुमतको दुई वा दुई भन्दा धेरै दल मिलेर सरकार बनाउन दिएको समय आज राति घर्किन लाग्दा ठाकुरले आफू पक्षीय सांसदलाई रिसोर्टमा भेला गरेका हुन्।
हिजो मात्रै उपेन्द्र यादव पक्षले ठाकुर पक्षका तीनजना सांसद लुकाएको खबर आएको थियो। यो घटनाका कारण चनाखो भएका ठाकुरले आफूनिकटहरुलाई एकै ठाउँ राखेका हुन्।
नयाँ सरकार निर्माणका लागि कांग्रेस र माओवादीलाई साथ दिन नसक्ने अडान लिएका ठाकुर पक्षीय १५ जना सांसद रिसोर्टमा पुगिसकेका छन्। ठाकुर पक्षीय दुई जना सांसद कोरोना लागेका कारण उपचाररत छन्।
बाँकी सांसदहरुलाई उनले बैठक भन्दै रिसोर्टमा भेला गरेका हुन्। कांग्रेस सभापति देउवाले आजै बहुमत संख्या १३६ सांसदको हस्ताक्षरसहित सरकारमा दाबी गर्ने बताएपछि ठाकुरले सांसदहरुलाई रिसोर्टमा राखेर 'होल्ड' गराएका हुन्।
आफू पक्षीय सांसदहरुलाई देउवासँग सत्ता सहकार्य कोसिसमा रहेका उपेन्द्र यादवले तान्न सक्ने भयले उनले यस्तो निर्णय लिएका हुन्। 'हामीलाई यहाँ बैठक भनेर बोलाइएको छ। ठाउँ पनि खुलाउन निषेध गरिएको छ', एकजना सांसदले फरकधारसँग भने, 'कसैले दायाँ बायाँ नगरोस् भनेर भेला गरेको हुन सक्छ। अहिले हामी यहाँ जम्मा हुँदैछौँ।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।