ओलीप्रति नारायणकाजीको टिप्पणी : सत्ता स्वार्थका लागि विदेशी शक्तिसँग त्वमशरणम् भए
विदेशी हस्तक्षेप बढेको भन्दै संघर्ष चर्काउने चेतावनी

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजै प्रधानमन्त्रीमा नियुक्त एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाह्य शक्ति केन्द्रको घरेलु सेवक भनेका छन्। 

कांग्रेससँग मिलेर सरकार बनाउने योजनामा चुकेपछि आक्रोशित माओवादीका प्रवक्ता समेत रहेका श्रेष्ठले अब ओली र उनलाई संरक्षण गर्ने बाह्य शक्तिविरुद्ध आन्दोलन चर्काउने बताएका छन्। 

ओलीले आफ्नो तुच्छ सत्ता स्वार्थका लागि बाह्य शक्तिको पाउमा त्वमशरणम् गरेको आरोप पनि लगाएका छन्। 'आफ्नो तुच्छ सत्ता स्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने, विदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य शक्तिहरूको क्रिडास्थल बनाउने कार्य देशका लागि चुनौती हो', उनले भनेका छन्, 'त्यसले राष्ट्रिय स्वाधीनतामाथि पैदा गरेको खतरा नै आजको मुख्य चुनौती हो। अतः सम्पूर्ण देशभक्त शक्तिहरु एक होऔं, सार्वभौमिकताको रक्षा गरौं।'

विदेशी शक्तिहरु नेपालको संविधान र लोकतन्त्रविरुद्ध आफ्नै एजेन्डा लाद्ने गरी अघि बढेको उनको तर्क छ। 'बाह्य शक्तिहरु नेपालको संविधान र लोकतन्त्रविरुद्ध आफ्नै एजेन्डा लाद्ने रणनीतिका साथ क्रियाशील भइरहेका छन्', उनले भनेका छन्, 'आफ्नो कुर्सी  स्वार्थका लागि राष्ट्रिय स्वाधीनताको मुद्दालाई नै सौदाबाजीको बिषय बनाउने शासकहरुबाट उनीहरुको भूमिकाको लागि आधार तयार पारिएको छ।'

उनले विदेशी शक्तिकेन्द्रको हस्तक्षेप र तिनका घरेलु सेवकहरुविरुद्ध संघर्ष जरुरी रहेको भन्दै ओलीतर्फ कटाक्ष गरेका छन्। 'बाह्य शक्तिकेन्द्रको अवाञ्छनीय हस्तक्षेप र तिनका घरेलु सेवकहरुविरुद्ध संघर्ष नगरी संविधान र लोकतन्त्रको पनि रक्षा हुन सक्दैन', श्रेष्ठले भनेका छन्, 'सामाजिक न्यायसहितको समृद्धि र समाजवाद त झन् धेरै परको कुरा हुन जानेछ। यो यथार्थलाई समयमै गहिरो गरी आत्मसात गरौं।'

आफ्नो तुच्छ सत्तास्वार्थका लागि बाह्य शक्तिका पाउमा त्वमशरणम् गर्ने,बिदेशी हस्तक्षेप आमन्त्रण गर्ने र देशलाई बाह्य...

Posted by Narayan Kaji Shrestha on Thursday, May 13, 2021




  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार २२:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया