राष्ट्रियसभा उपनिर्वाचन : खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने
एमाले एक भएपछि बादललाई फाइदा

नेकपा एमाले नेता माधव नेपाल समूहबाट बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले पछि नहट्ने घोषणा गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति निकालेर देवकोटाले वाम गठबन्धनबाट उम्मेदवारी दिएको भन्दै पुर्नविचार गर्न नसकिने स्पष्ट पारेका हुन्। उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ। निर्वाचन आयोगले उनलाई कलम चुनाव चिन्ह दिइसकेको छ।

‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलगायत दलहरूको समर्थन र सहयोगबाट मैले उम्मेदवारी दिएको हो', उनले भनेका छन्, 'यो स्थितिमा पुनर्विचार गर्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो।’

देवकोटाले निष्ठा र इमानको राजनीतिप्रति गहिरो लगाव रहेको उल्लेख गर्दै परिणाम जे आए पनि पछि नहट्ने बताएका छन्। 

देवकोटालाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा कलम चुनाव चिन्ह दिएको छ। नेकपा एमालेको विवाद समाधानतिर अघि बढिरहेका बेला वरिष्ठ नेता नेपालनिकट देवकोटाले उम्मेदवारी फिर्ता लिने अनुमान गरिएको थियो।

बागमतीमा गृहमन्त्री रामबहादुर थापा बादल नेकपा एमालेका आधिकारिक उम्मेदवार हुन्। बागमतीमा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेका बेला पार्टी हिजोदेखि मिल्ने दिशातिर गएको छ। 



पार्टी मिल्ने दिशामा गएपछि एमालेबाट सूर्य चिन्हसहित बादलले जित्ने निश्चित जस्तै छ। बागमतीबाट राष्ट्रियसभाका लागि नेपाल मजदुर किसान पार्टीका कृष्ण तामाङले पनि उम्मेदवारी दिएका छन् ।

मतभार 



बागमतीमा राष्ट्रियसभाका लागि एमाले एक्लैको बहुमत रहेको छ। देवकोटाले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा केही मत बाँडिन सक्ने जोखिम कायमै छ।  राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एकजना प्रदेशसभा सदस्यको मत बराबर ४८ मत तथा स्थानीय तहका प्रमुख-उपप्रमुखको एक मत बराबर १८ मत गणना हुने छ।

बागमती प्रदेशभित्र १ सय १० प्रदेशसभा सदस्यको ५ हजार २ सय ८० र १ सय १९ स्थानीय तहका २ सय ३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २ सय ८४ सहित जम्मा ९ हजार ५ सय ६४ मत छ।

बागमतीमा एमालेको एक्लैको मतसंख्या ९ हजार ५ सय ५६ छ। एमाले अब एक भइसकेकाले बागमतीमा ५८ जना प्रदेशसभा सदस्यको २७ सय ३६ मत छ। त्यहाँ माओवादी केन्द्रका २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ। नेमकिपाका दुईसहित अन्य आठ प्रदेशसभा सदस्य छन्। 

स्थानीय तहतर्फ एमालेका १ सय ३३ अध्यक्ष/उपाध्यक्ष छन्। उनीहरुले एमालेमै मतदान गरे २ हजार ३ सय ९४ मत थापाले पाउनेछन्। यस्तो अवस्थामा देवकोटाको उम्मेदवारी कायमै रहे पनि एमालेका बादलले जित्ने सम्भावना बलियो छ।

  • प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार ११:१२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया